सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले संसद विघटनको घटनालाई लिएर १२ वटा रिट निवेदन सर्वोच्च अदालतमा परेको र सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्नेमा आफु विश्वस्त रहेको बताएका छन ।
उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले शान्ती, विकास र लोकतन्त्रका पक्षमा काम गर्दा अवरोध भएको र संसद विघटनको निर्णय गर्नु परेको बताउँदै कार्यकर्तालाई लोकतन्त्र, शान्ति र विकासका लागी काम गर्न समेत निर्देशन गरेका छन । बुधबार अनेरास्ववियु सिन्धुली र राष्ट्रिय युवा संघ सिन्धुलीले आयोजना गरेको ¥यालीपछिको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले ओली राष्ट्रवादी नेता भएको र लिपुलेक कालापानीको नक्सा संविधानमा ल्याउँदा सरकार ढल्नेसम्मको अवस्था सृजना भएको बताए । उनले सबै नेपालीलाई राष्ट्रियताको पक्षमा उभिन समेत आग्रह गरेका छन ।

उनले युवा विद्यार्थीलाई पार्टी निर्माणमा अभियान चलाउन अनुरोध गरेका छन । ‘पार्टी एकता हुन बाँकी छ भने एमाले भएर अभियान चलाउनुहोस । एकता भएको छ भने नेकपा भएर अभियान चलाउनुस । तर पार्टी निर्माणमा लाग्नुस ।’ उनले भने – ‘जे भनेर भए पनि अभियान चलाउनुस, भेला गर्नुस, बैठक गर्नुस ।’
मनमोहन अधिकारीको पालामा संसद विघटन गर्न विशेष पहल गर्ने तत्कालिन उपप्रधान तथा रक्षा मन्त्री माधव नेपाल रहेको बताउँदै बस्नेतले भने, ‘आफुले गरे मजुर हुने, अरुले गरे कुकुर हुने ?’
सभा अघि युवा विद्यार्थीले ‘सिन्धुलीबासी के भन्छ, केपी ओली ले भन्छ, अघि बढ केपी वा साथ दिन तयार छौं’ लगाएतका नारा सहित जुलुस समेत गरेका थिए । उनीहरुले वर्तमान परिस्थितिको निकास जनादेश रहेको समेत बताएका छन ।




















