बैठकमै सिडिओले भने ‘एक महिना सहयोग गर्नुहोस्, कोरोना न्युनिकरण हुन्छ’
सिन्धुली । सिन्धुलीमा कोभिड १९ को संक्रमण तिव्र रुपमा बढेको छ । यो सँगै भौतिक दुरीको पालना, बजारमा स्वास्थ्यका मापदण्ड पालना, मास्कको प्रयोग लगाएतका काममा नागरिक तथा व्यवसायीले वेवास्ता गरेका छन । राजनीतिक दल, स्थानीय सरकार, संघसंस्थाका बैठक, सेमिनार, तालिम, भेला, पार्टी प्रवेश, बजारमा भिडभाड, हाटबजार सञ्चालन लगाएतका कामले संक्रमण बढेको छ । जसका कारण विरामीलाई आइसोलेट गर्ने आइसोलेसनको अभाव भएको छ ।

सिन्धुली अस्पतालमा दैनिक ज्वरोका विरामी बढेपछि आपतकालिन उपचारमा समेत समस्या भएको छ । ज्वरोका विरामी र अन्य विरामीलाई एकै ठाउँमा उपचार गर्दा जोखिम बढेको सिन्धुली अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलका अनुसार, ‘अस्पतालमा सिकिस्त विरामीलाई समेत सिटामोल खुवाएर राख्नुको विकल्प छैन ।’
ज्वरोका विरामीलाई छुट्टै जाँच गर्ने व्यवस्थापनका बारेमा आन्तरिक गृहकार्य भई रहेको अस्पतालले जनाएको छ । तथापी अस्पतालले ट्रेसिङमा जान नसक्ने र उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिन थालेपछि स्थिति नाजुक हुन सक्ने बताएका छन ।
जिल्लामा कोभिड १९ संक्रमण र जोखिम बढेसँगै मंगलबार संकट व्यवस्थापन केन्द्रको बैठक बसेको छ । बैठकले संक्रमितको पहिचान नहुदा कोभिड संक्रमण बढेको, भिडभाड युक्त सार्वजनिक कार्यक्रमहरु, यातायात, बजार खुला भएको र पिसिआर परिक्षण गर्न स्वाव दिएर सार्वजनिक स्थानमा जाने लगाएतका कामले कोभिड बढेको ठहर गरेको छ । बजारमा हिड्दा, भिडभाडमा जाँदा मास्क, सेनिटाईजनको प्रयोग, भौतिक दुरी कायम जस्ता स्वास्थ्यको मापदण्ड पालना नगर्ने गरेका कारण समस्या आएको बैठकले ठहर गरेको छ ।
कोभिड संक्रमण बढाउन भएका गतिविधिलाई नियन्त्रण गर्नका लागि केन्द्रले स्टिकर टाँस्ने काम सुरु गर्ने निर्णय समेत गरेको छ । असोज २० गतेको सर्वदलिय सर्वपक्षिय बैठकको निर्णयलाई कार्यान्वयन हुने गरि ‘एक्सन’मा जाने निर्णय भएको हो ।
केन्द्रको बैठकले पहिलो चरणमा कमलामाई नगरपालिकाका बजार क्षेत्रका वडाहरुबाट उक्त अभियान थाल्ने भएको छ । वडा नं. ४, ५, ६, ७ र ९ का वडा अध्यक्षहरु सहित बसेको बैठकबाट संक्रमितहरुको घरमा रातो स्टिकर र संक्रमितको संक्रमणमा रहि क्वारेन्टाईनमा बसेकाको घरमा पहेंलो स्टिकर टाँसिने भएको छ । रातो स्टिकरमा संक्रमित व्यक्ति होम आइसोलेसन लेखिने छ भने पहेँलो स्टिकरमा होम क्वारेन्टाईन लेखिने छ ।
कमलामाई नगरपालिकाका सबै वडामा तीन दिन भित्र वडा अध्यक्षहरुको संयोजकत्वमा कोभिड १९ व्यवस्थापन तथा सहजीकरण टिम बन्ने छ । उक्त टिमले ४०, ५० घर समेट्ने गरि ‘एक्सन टिम’ निर्माण गर्ने छ । उक्त टिमले आइसोलेसन गर्ने काम गर्ने छ । जसमा संक्रमितको घरमा स्टिकर टाँस्ने, आवश्यकता अनुसार क्वारेन्टाईनमा राख्ने, आइसोलेसनमा राख्ने र कन्ट्याक ट्रेसिङ गर्ने लगाएतका काम गर्ने छ । साथै स्वास्थ्य सचेतताको काम गर्ने छ । सम्भावित जोखिम र लक्षणको पहिचान गरि उपचराका लािग अस्पताल लान समेत यो टिमले सहयोग गर्ने छ ।
स्टिकर जिल्ला संकट व्यवस्थापन केन्द्रको नाममा छापिने छ । सरकारको मापदण्ड अनुसार कोरोनामुक्त भएपछि त्यस्ता घरको स्टिकर हटाईने छ । छपाईको व्यवस्थापन सम्बन्धित पालिकाले गर्ने छ ।
संक्रमितको ठेगाना सहितको विवरण सिन्धुली अस्पताल र स्वास्थ्य कार्यालयले सम्बन्धित पालिका मार्फत वडामा बनेका समितिमा पु¥याउन सकेसम्म छिटो व्यवस्था मिलाउने छ । जसको व्यवस्था मिलाउन नगरपालिकाले मंगलबारदेखि नै काम सुरु गर्ने भएको छ ।
यसैबीच बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जिल्लामा कोभिड १९ संक्रमण दर बढेको र आइसोलेसन, अस्पतालको क्षमता र स्वास्थ्य सामग्रीले धान्न नसक्ने अवस्थामा पुगेको बताएका छन । उनले हात जोडेर भनेका छन, ‘एक महिना व्यवसायी, राजनीतिक दल, स्थानीय सरकार, नागरिक, मिडिया सबैले सहयोग गर्नुहोस, कोरोना नियन्त्रणमा आउने छ ।’





















