सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भौतिक उपस्थितिमा पठनपाठन नगराउन जिल्लाका सबै विद्यालयलाई अनुरोध गरेको छ ।आइतबार सार्वजनिक सुचना जारी गरि प्रशासनले भौतिक उपस्थितिमा पठनपाठन गराउँदा कोभिड १९ संक्रमणको उच्च जोखिम बढ्ने र जिल्लामा उपलब्ध स्वास्थ्य सेवाबाट यसको निरुपण सम्भव नभएको जनाउँदै पठनपाठन रोक्न अनुरोध गरेको हो ।

प्रशासनले नेपाल सरकारले भदौ २९ गते गरेको निर्णय विपरित विद्यालय नखोल्न अनुरोध गरेको हो । ‘विद्यालय सञ्चालन जस्ता गतिविधिबाट कोरोना फैलन गएको त्यसको जिम्मेवारी सम्बन्धित विद्यालय र विद्यालय व्यवस्थापन समितिले लिनु पर्छ,’ प्रशासनले भनेको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेद्वारा जारी सूचनामा वैकल्पिक शिक्षण सिकाई मार्फत शैक्षिक गतिविधि कायम राख्न अनुरोध गरिएको छ ।
यस्तै प्रशासनले भौतिक उपस्थितिमा गरिने पठन पाठनले घर घरमा कोरोना फैलन गई वृद्ध वृद्धा र १० वर्ष मुनीका बालबालिकाको स्वास्थ्य जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरेको छ ।
सूचनामा विद्यालय खोली पठनपाठन गराएमा संक्रामक रोग ऐन २०२० अनुसार हुने समेत उल्लेख गरिएको छ । अनुगमनको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने समेत सूचनामा उल्लेख छ ।
सूचना जारी भएसँगै जिल्लाका सामुदायिक विद्यालयहरुले विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गर्न थालेका छन ।





















