सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदीबाट आएका मरिण गाउँपालिका वडा नं. २ का २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
उनी असार १९ गते सिन्धुली आई मरिण गाउँपालिकाको कपिलाकोटमा रहेको मरिण बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र सिन्धुली अस्पताल पठाउने तयारी भईरहेको गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए । उनको नमुना प्रादेशिक प्रयोगशाला हेटौडामा परिक्षण गरिएको थियो ।
उनीसँगै मरिणका ११ जनाको स्वाव पठाईएकोमा अन्य १० जनाको रिपोर्ट नेगेटिभ आएको बम्जनले जानकारी दिएका छन ।
यता सिन्धुली अस्पतालले उनको उपचारको तयारी गरिरहेको जनाएको छ । एम्बुलेन्स पठाईसकिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए । यो सँगै सिन्धुलीमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ ।
हालसम्म जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकामा संक्रमण देखिएको छ ।




















