सिन्धुली । सिन्धुलीमा एन्टीवडि परिक्षण गर्ने आरडिटी किट्स र थ्रोट स्वाव संकलन गर्ने भिटिएम किट्सको अभाव भएको छ । कोरोना भाइरस (कोभिड १९) परिक्षणका लागि आवश्यक पर्ने दुवै किट्सको अभाव भएपछि कोरोना परिक्षण नै प्रभावित भएको छ ।
जिल्लामा आपतकालिन अवस्था सृजना भएमा कोरोना परिक्षणका लागि स्वाव संकलन गर्न नसकिने अवस्थामा पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यता कोरोना अस्पतालका रुपमा तयार गरिएको सिन्धुली अस्पतालमा पनि भिटिएम किट्सको अभाव भएको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलका अनुसार अस्पतालमा जम्मा १५वटा भिटिएम किट्स मात्र रहेको छ ।
कोभिडका धेरै विरामी बढेमा वा आपतकालिन अवस्था आएमा स्वाव संकलन गर्नु परेमा समस्या नसकिने अवस्था आएको पनि उनले बताएका छन ।
जिल्लामा भारतबाट नागरिकहरु आउने क्रम रहेकाले र करीव २६७ जना विरामी क्वारेन्टाईनमा रहेको अवस्थामा जिल्लामा किट्सकै अभाव भए पछि उनीहरुको स्वाव संकलन गर्न नसकिएका स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
सिन्धुली अस्पताल विकास समिति र स्वास्थ्य कार्यालय नै किट्स किन्न सक्ने अवस्थामा छैनन । जसका कारण पनि कोभिड १९ परिक्षणमा समस्या देखिन थालेको छ । जिल्लामा २ पटक गरी आएका आरडिटी किट्सबाट १ हजार २ जनाको एन्टीवडि परिक्षण गरिएको छ भने ९७ जनाको आरटिपिसिआर परिक्षण गरिएको छ । आरटिपिसिआर परिक्षण गरिएका मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयले किट्सका लागि स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखासँग अनुरोध गरेको शाहले जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले सामाजिक सञ्जाल मार्फत नै जिल्लाका सबै स्थानीय तहलाई किट्स खरिदमा सहयोग गर्न अनुरोध समेत गरेका छन । किट्सको जोहो गर्न आर्थिक श्रोत भने जुटेको छैन ।




















