सिन्धुली । भारतमा रोजगारीका लागि गएका नागरिकहरु स्वदेश फर्कन थालेसँग सिन्धुली भित्रिन थालेका छन । सरकारले भारतमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न थालेपछि उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहहरु क्वारेन्टाईन थप गर्न लागि परेका छन । तथापी नागरिकहरु एकै चोटी उद्धार गरि क्वारेन्टाईनमा राख्नु परेमा त्यसको व्यवस्थापन गर्न भने कठिनाई देखिने भएको छ ।

उनका अनुसार जिल्लामा कति नागरिक भारतबाट आउँदैछन भन्ने तथ्यांक भने प्रहरीसँग छैन । जिल्ला विपद व्यवस्थापन समितिसँग पनि कति नागरिक आए वा आउँदैछन र तिनको व्यवस्थापन के भएको छ भन्ने तथ्यांक नै अध्यावधिक देखिदैन ।
जिल्लामा आएका नागरिकलाई प्रहरीको सहयोगमा सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको र सोहि ठाउँका क्वारेन्टाइनमा व्यवस्थापन गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भारतबाट आउने नागरिकको ट्राभल हिस्ट्री सहितको तथ्यांक राख्न सुरु गरेको छ । जिल्लाका सबै स्थानीय तहहरुले वडा वडामा रहेका विद्यालयमा क्वारेन्टाईन निर्माण गरि आउने नागरिकको व्यवस्थापन गर्नका लागि समेत समन्वय गरिएको पनि उनले बताईन ।
भारतबाट आउने नागरिकहरु जिल्ला भित्रिन थालेपछि क्वारेन्टाईन स्थलहरु निर्माणको काम समेत सुरु भएको छ । जिल्ला स्तरमा कमलामाई नगरपालिकाको समन्वयमा गौमति नमुना मावि माढीबजारमा ३० वेडको क्वारेन्टाईन निर्माण गर्न सुरु गरिएको छ । क्वारेन्टाइन मंगलबारसम्म तयार हुने बताईएको छ ।
जिल्लाका विभिन्न विद्यालयहरु, पार्टी प्यालेसहरुलाई क्वारेन्टाईन बनाउन काम थालिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि सिटौलाले बताएका छन । तर जिल्लामा कति मानिसहरु राख्न सकिने क्वारेन्टाईन छन र कति नागरिक जिल्ला भित्रिदै छन ? उनीहरुको व्यवस्थापनका विषयमा क्वारेन्टाईन व्यवस्थापन समिति नै अनविज्ञ देखिएको छ ।
जिल्लामा पाँच हजार नागरिक भारतबाट आउँदै गरेको बताईए पनि त्यसको आधिकारीक तथ्यांक समेत नहुदा स्थानीयमा त्रास फैलिएको छ । यस्तै बनाईएका क्वारेन्टाईनहरुमा पनि जिल्ला आएका नागरिकलाई राख्न नदिन स्थानीयहरुले अवरोध गर्न थालेका छन । कमलामाई नगरपालिका वडा नं. ६ राम्माढी र कनपा १४ रानीबासमा स्थानीयले क्वारेन्टाईनमा मान्छे राख्न अवरोध गरेका छन । अवरोधका बाबजुद वडा नं. १४ मा भने भारतबाट आएका वडाबासीलाई राखिएको वडा सचिव आनन्द पोखरेलले बताएका छन ।
भारतीय क्वारेन्टाईनमा रहेका तथा कोरोना संक्रमणका कारण रोजगारी गुमाई स्वदेश फर्केका नागरिकको उद्धार तथा क्वारेन्टाईन व्यवस्थापनमा जिल्ला क्वारेन्टाईन व्यवस्थापन समितिले मंगलबारबाट मात्र तथ्यांक अपडेट गरि काम थाल्ने भएको सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाले बताए ।



















