सिन्धुली । काठमान्डौमा कोरोना भाईरसको संक्रमण भेटिएकी सिन्धुलीकी २७ वर्षिय महिलाको परिवारका ९ जना सहित ११ जनाको आरटिपिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कमलामाई नगरपालिका वडा नं. ९ पन्नेसीका उनीहरुको कन्ट्रयाक टे«सिङको आधारमा थ्रोट स्वाव लिईएको थियो ।
उनीहरुसँगै सिन्धुली अस्पतालमा आइसोलेसनमा भर्ना भएकी एक महिला र आरडिटी पोजेटिभ देखिएका एक पुरुषको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यो सँगै सिन्धुलीबाट आरटिपिसिआर विधिबाट कोरोना परिक्षणका लागि पठाईएका ९५ नमुना सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
हालसम्म सिन्धुलीमा आरडिटी परिक्षणबाट ९१० जनाको एन्टीवडि परिक्षण गरिएको छ । उक्त परिक्षणमा २९ जनाको एन्टीवडि पोजेटिभ देखिएको थियो । ति सबैको आरटिपिसिआर रिपोर्ट नेगेटिभ आएको शाहले जानकारी दिए ।




















