सिन्धुली । जिल्लाको पहिलो संक्रमित २७ वर्षिय युवतिमा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनको घर र टोल सिल गरिएको छ । युवतिको घर सहित ५ घर सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
युवति घर रहेको कमलामाई नगरपालिका वडा नं. ९ पन्नेसीमा उनको घर सहित ५ घर सिल गरिएको हो । लकडाउनको बीचमा युवति घरबाट काठमान्डौ गएको कन्ट्रयाक ट्रेसिङमा खुलेपछि घर सिल गरेको हो । उनको परिवार र आसपासका ४ घर परिवारको कन्ट्रयाक ट्रेसिङ गर्नुका साथै इलाका प्रहरी कार्यालय भिमानको सहयोगमा उक्त घरहरु सिल गरिएको छ ।
सिल गरिएको क्षेत्रमा सुरक्षा सतर्कता समेत अपनाईएको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ । स्वास्थ्य कार्यालय सिन्धुली र कमलामाई नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा कन्ट्रयाक ट्रेसिङ गरिएको र युवतिका परिवारका ९ जना सहित ४१ जनालाई होम क्वारेन्टाईनमा सुरक्षित बस्न आग्रह गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
शाहका अनुसार उनीहरुको स्वाव संकलन गरि परिक्षणका लागि पठाउनका लागि तयारी सुरु गरिएको छ । विहिबार उनीहरुको स्वाव संकलन गरिने भएको शाहले जानकारी दिएका छन । युवति लकडाउन अघि सिन्धुली आई २३ दिन अघि काठमान्डौ गएकी थिईन ।
उनले केन्द्रीय प्रयोगशाला टेकुमा स्वाव परिक्षण गराएकी थिईन । कन्ट्रयाक ट्रेसिङ गरिएका कसैमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य कार्यालय प्रमुख शाहले बताए ।




















