सिन्धुली/उच्च ज्वरो आएका २ जना महिलाहरुलाई सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । शनिबार उच्च ज्वरो आएपछि दुई जना महिलालाई आइसोलेसनमा भर्ना गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।
महिलाहरुमा कोरोना भाइरसको जस्तो मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुको कोरोना परिक्षणका लागि थ्रोट स्वाव संकलन गरि आइतबार प्रादेशिक अस्पताल हेटौडामा पठाईएको छ । कमलामाई नगरपालिका वडा नं. २ र ६ का ३२ वर्षिय र २० वर्षिय महिलालाई आइसोलेसनमा भर्ना गरिएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले बताए ।

शंकास्पद व्यक्तिलाई अस्पतालमा भर्ना गरिएपछि अस्पताल व्यवस्थापनले अस्पतालमा अनावश्यक आवतजावत र अस्पताल प्रांगणमा गरिने सवारी पार्किङमा समेत रोक लगाएको छ । आपतकालिन सेवा र ओपिडि सेवामा भिडभाड कम गर्न मानिसको आवतजावतलाई अस्पतालले रोक लगाएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताएका छन ।
अस्पताल संक्रमणको उच्च जोखिममा रहेकाले अनावश्यक अस्पताल प्रवेशमा रोक लगाईएको र एक विरामी एक कुरुवाको पासको व्यवस्थालाई कडाईका साथ लागु गरिएको पोखरेलले बताए । जसका कारण करीब एकसातादेखि सुरु भएको ओपिडी सेवा प्रभावमा परेको छ ।
अस्तालका अध्यक्ष पोखरेलका अनुसार अस्पतालका प्रसुती तथा अन्य अत्यावश्यक सेवामा भने उक्त कडाईले प्रभाव पार्ने छैन । अस्पतालले ‘कोभिड १९ को अति उच्च जोखिम रहेकोले यो स्थितिको सिर्जना गर्न बाध्य भएको’ जनाएको छ । अस्पतालले नियमित औषधि सेवनकर्ताले डाक्टरको परामर्शमा औषधि लाने ब्यबस्थामा भने समस्या नहुने गरि व्यवस्था मिलाएको जनाएको छ ।




















