सिन्धुली । रातको समयमा सडकमा पैसा फाल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ घर बताउने ती महिलालाई पक्राउ गरि ¥यापिड टेष्ट मार्फत कोरोना परिक्षण गरिएको छ । कमलामाई नगरपालिका वडा नं ५ शसस्त्र प्रहरी बलको अस्थाई वेस क्याम्प हुदै चिसापानी झोरा जाने सडकमा पैसा फालिएको भेटिएको थियो । सडकमा ५ रुपैया र १० रुपैयाका नोटहरु फेला परेपछि खोजी गर्दा ४२ वर्षिय महिलालाई पक्राउ गरिएको हो ।
उनको सिन्धुली अस्पतालमा कोरोना परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीले बताए । उनका अनुसार ती महिलामा मानसिक समस्या देखिएकाले उपचारका लागि बाहिर लानुपर्ने देखिएको छ । कोरोना परिक्षण पछि महिलालाई प्रहरीको जिम्मामा लगाईएको छ ।
मानसिक समस्या देखिएकी ति महिलालाई मानव सेवा आश्रममा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताईन ।
यसैबीच सिन्धुली अस्पतालमा एक ३५ वर्षिय ज्वरो आएकी महिलाको पनि कोरोना परिक्षण गरिएको छ । कमलामाई नगरपालिकाको भिमानकी ती महिलामा ज्वरो बाहेक कुनै लक्षण नदेखिए पनि विरामीकै आग्रहमा कोरोना जाँच गरिएको हो । उनको रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पताका डा. राजभण्डारीले बताए ।




















