सिन्धुली/भुकम्प गएको शुक्रबार पाँच वर्ष पुरा भएको छ तर जिल्लाको नीजि आवास पुनःनिर्माणले भने सोंचे जति प्रगति गर्न सकेको छैन । जिल्लामा नीजि आवास पुनःनिर्माणमा हालसम्म ६२.६६ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । अनुदान सम्झौता गरेको संख्याको आधारमा हेर्दा जिल्लामा पुननिर्माणको गति न्युन देखिएको हो ।
यहाँ नीजि आवास पुनःनिर्माणको सूचिमा परेकामध्ये ३७ हजार १२३ जनाले अनुदान सम्झौता गरेका थिए । उनीहरुमध्ये पहिलो किस्ता लिएका ३६ हजार ४८३ जनाले लिएका थिए । अनुदान सम्झौता गरि घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिनेको संख्या २२ हजार ८६१ रहेको छ ।
पहिलो किस्ता लिएर काम भईरहेको १३ हजार ४ सय २२ घरको पुनःनिर्माणको काम रोकिएको छ । जुन ३६ दशमलब ७९ प्रतिशत पुनःनिर्माणको काम बाँकी रहेको छ । नीजि आवासको दोस्रो किस्ता वापतको रकम लिनेको संख्या ३० हजार ७ सय रहेको छ ।
असार मसान्तसम्म भुकम्पको नीजि आवास पुनःनिर्माण गर्ने सरकारको लक्ष्य कोरोना संक्रमणपछिको लकडाउनका कारण रोकिएको छ । जिल्लामा कुनै पनि पुनःनिर्माणका काम सञ्चालन हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सूर्य प्रकाश विष्टका अनुसार प्रवलीकरणको कामै अगाडि बढ्न सकेको छैन । जिल्लामा १४ हजार ४४१ जना लाभग्राही प्रवलीकरणमा रहेकोमा ११ हजार ५३५ जनाले पहिलो किस्ता बापतको रकम लिईसकेका छन ।
प्रवलीकरणको कामको गति भनै शुन्य नै रहेको उनले बताए । जिल्लामा पहिलो पटक लाभग्राही सूचिमा परेका ३८ हजार ५७ र पुनःजाँच पुनः सर्वेक्षणको दोस्रो चरणमा लाभग्राहीमा परेका ५ सय ५ जना गरि ३८ हजार ५६२ जना लाभग्राही रहेका छन ।
जिल्लामा नीजि आवास पुनःनिर्माणमा ९ अर्व ९ करोड १ लाख ५० हजार रुपैंया खर्च भएको पनि विष्टले बताए ।
उनका अनुसार विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासमा २०७६ चैत ११ गतेदेखि पुनःनिर्माणको काम हुन सकेको छैन । जिल्ला २०७७ असार मसान्तसम्म ९० प्रतिशत पुनःनिर्माणको काम सकिने अनुमान गरेको इकाईले लकडाउनका कारण सफल नहुने समेत जनाएको छ ।
गुम्बाको पुननिर्माण पनि अन्यौलमा
०७२ साल बैशाख १२ गतेको भुकम्पले क्षती पु¥याएका जिल्लाका ४१ वटा गुम्वाको हालसम्म पनि पुननिर्माण सुरु हुन सकेको छैन । मर्मत गर्नुपर्ने १८ वटा गुम्वाको मर्मतका लागि ९८ लाख बजेट आएकोमा ५ वटा गुम्वाको पुननिर्माण सम्झौता भए पनि अन्यको काम अगाडि बढ्न सकेको छैन ।
ती गुम्बालाई क्षतिको अनुपात हेरी ३, ५ र १० लाख बजेट विनियोजन गरेको थियो । जिल्लामा भुकम्पले ४१ वटा गुम्बामा क्षति पुगेको पुननिर्माण प्राधिकरणको तथ्यांक भए पनि उनीहरुको बजेको टुंगो नै हालसम्म लागेको छैन ।
आयोजना प्रमुख विष्टका अनुसार पुननिर्माणका बाँकी सबै काम लकडाउन पछि रोकिएका छन । असार मसान्तसम्म नीजि आवास निर्माण लगाएतका कुनै पनि काम सकिने अवस्थामा छैनन ।





















