सिन्धुली । सिन्धुलीमा ज्वरो नाप्ने थर्मल गनकै अभाव देखिएको छ । जिल्लामा जम्मा ७ वटा मात्र थर्मल गन रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । थर्मल गन किन्न समेत नपाएका कारण जिल्लामा थर्मल गनको अभाव भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्लाका स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताल लगाएतले थर्मल गन खरिद गर्न खोजे पनि बजारमा नपाएपछि समस्या भएको हो । जसका कारण जिल्लामा सञ्चालित १६ वटा हेल्थ हेल्प डेक्स सञ्चालन गरि ज्वरो नाप्न समेत समस्या भएको छ । थर्मल गन खरिदका लागि समन्वय तथा पत्राचार भईरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
थर्मल गन नभएका कारण ज्वरो नाप्न नसकिएको स्थानीय तहका प्रमुखहरुले बताएका छन । हरिहरपुरगढीका अध्यक्ष कार्साङ लामाले थर्मल गन नभएकाले ज्वरो समेत नाप्न कठिन भएको बताए । उनले सर्लाहि बारा पर्सा जाने र उताबाट सिन्धुली आउनेका कारण स्थानीयमा त्रास भए पनि ज्वरो नाप्न समेत नसकिएको बताए ।
यस्तै फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले थर्मल गन किन्न नपाएकाले हेल्थ हेल्प डेक्स नै सञ्चालनमा समस्या आएको बताईन । तिनपाटन गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका लगाएतका स्थानीय तहहरु समेत थर्मल गन नपाएर समस्यामा परेका छन । जोखिम अवस्था आएमा ज्वरो नाप्न समेत सकिने अवस्था नरहेको उनीहरुले जनाएका छन ।
थर्मल गनको अभावका बावजुद सिन्धुलीमा ८ सय बढीको ज्वरो जाँच गरिएको रेकर्ड आएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।




















