सिन्धुली । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ विरुद्ध दुधौली नगरपालिका भित्रका एम्बुलेन्स चालकहरुलाई उपलब्ध गराउने गरि मकाउमा बस्ने दुधौलीका युवाहरुले मेडिकल सामग्री सहयोग गरेका छन । उनीहरुले नेपाल रेडक्रस सोसाईटी दुधौली उपशाखा मार्फत उक्त सहयोग सामग्री दुधौली नगरपालिकालाई पठाएका हुन ।
दुधौली नगरपालिका भित्र चल्ने एम्बुलेन्स चालकहरुको सुरक्षाका लागि उनीहरुले उक्त सहयोग गरेका हुन । मकाउमा बैदेशिक रोजगारमा गएका दुधौली नगरपालिका वडा न.७ का सानुबाबु पौडेल, राजु श्रेष्ठ, वडा नं.९ का दिपक जोशी, वडा न. १० का नबराज बानियाँ, दिपेन्द्र पौडेल र कृष्ण देवकोटाले उक्त सामग्री सहयोग पठाएका हुन ।
उनीहरुले ७ सेट गाउन, ७ सेट जुत्तामा लगाउने कभर, ७ वटा चस्मा, ७ सेट पुन प्रयोग गर्न मिल्ने ग्लोब्स, एक बक्स मेडिकल ग्लोब्स, ७ वटा एन ९५ मास्क, १ बक्स मेडिकल मास्क र १२ वटा सेनिटाईजर सहयोग गरेका हुन ।
उनीहरुका तर्फबाट बुधबार नेपाल रेडक्रसस सोसाइटी दुधौली उपशाखा सभापति शंकर खड्काले दुधौली नगरपालिकाका मेयर घनश्याम राउतलाई उक्त सामग्री हस्तान्तरण गरेका छन । उक्त सामान एम्बुलेन्स सञ्चालकको रोहवरमा राउतले एम्बुलेन्स चालकलाई हस्तान्तरण गरेका छन ।




















