सिन्धुली । लकडाउनको पाँचौं दिन शनिबार सिन्धुलीमाढीमा एलपि ग्याँस भित्रिएको छ । नोवेलको आधा भरिएको ग्याँस सिन्धुलीमा आएपछि त्यसलाई व्यवस्थित वितरण गर्न सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं, प्रशासकीय अधिकृत भिम बस्नेत र उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले अनुगमन गरेका छन ।

जिल्लामा शनिबार १२ सय ७७ वटा ग्याँस सिन्धुलीमा आएको थियो । उक्त ग्याँस प्रतिव्यक्ति १ वटा मात्र वितरण गरिएको थियो । शनिबार सदरमुकाम सिन्धुलीमाढीमा वितरण गरिएको ग्याँस डिपोमा भिडभाड हुन नदिन अनुगमन गरिएको थियो ।
बजारमा ग्यासका सिलिन्डर बिक्री थालिएको खबर पाउनासाथ उपभोक्ताहरु रित्तो सिलिन्डर लिएर डिलर पुगेका थिए । आधा भरिएको ग्यासका सिलिन्डर वितरणले संकटका समयमा उपभोक्ताहरुलाई थप सहजता मिलेको छ ।
कमलामाई नगरपालिकाको ढुंग्रेवास, माढीबजार, धुराबजार, मिलनचोक, भिमान लगायतका स्थानमा ग्यास वितरण गरिएको हो । सदरमुकाम बाहिरका दूधौली, खुर्कोट, झागाझोली, रातमाटामा समेत ग्याँस बाँडिएको थियो ।



















