सिन्धुली । सिन्धुलीमा दोस्रो चरणको दादुरा रुवेला खोप स्थगित गरिएको छ । कोरोना भाइरसको महामारी फैलने डरले खोप स्थगित गरिएको हो ।
दोस्रो चरणको खोप कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकामा शुक्रबार अर्थात चैत १४ गतेदेखि २२ गतेसम्म चल्ने खोप स्थगित गरिएको हो । कोरोना भाइरसका कारण देश नै लकडाउन भएपछि सरकारले खोप अभियान स्थगित गरेको हो ।
लकडाउनका कारण चारवटा स्थानीय तहमा ९ महिना देखि २३ महिनासम्मका ५ हजार १२७ र सो भन्दा माथि ५९ महिनासम्मका ११ हजार ७८७ जना गरि १६ हजार ९१४ जना बालबालिका खोपबाट बञ्चित भएका छन ।
जसमध्ये दुधौली नगरपालिकामा ७ हजार १२४, कमलामाई नगरपालिकामा ५ हजार ६९४, गोलञ्जोर गाउँपालिकामा २ हजार ६५ र फिक्कल गाउँपालिकामा २ हजार ३१ बालबालिकाले खोप सेवा लिन नपाएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
उनका अनुसार कोरोनाको अवस्था सामान्यमा आएपछि बाँकी रहेको खोप अभियान सुरु हुने छ । लक डाउनका कारण खोप लिन आउन सक्ने अवस्था नभएको र रोग सर्ने सम्भावना पनि बढी हुने भएकाले सरकारले खोप अभियान रोकेका उनले बताए ।




















