सिन्धुली । जिल्ला विपद व्यवस्थापन समितिले सिन्धुली सदरमुकाममा एक हजार वेडको क्वारेन्टाईन बनाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
समितिका पदाधिकारीहरुले अध्ययन गरेका ठाउँमा क्वारेन्टाईन निर्माण गरिने भएको हो । सिन्धुली अस्पताल, विभिन्न सरोकारवालाको समन्वयमा ४ वटा शैक्षिक संस्थामा गरि एकहजार वेडको क्वारेन्टाईन निर्माण गरिने निर्णय भएको हो ।
जसमा मावि पानीट्यांकीमा २ सय, भगवति मावि माढीबजारमा १५० वेड, सिद्धस्थली मावि माढीबजारमा १५०, जनता मावि रातामाटामा एकसय बेड र सिन्धुली टेक्निकल कलेजमा एकसय वेडको क्वारेन्टाईन निर्माण गरिने भएको हो ।
यस्तै ३ सय वेडका लागि सिन्धुलीका होटल, पार्टी प्यालेसका कोठा, सेमिनार हल, सभाहलहरुलाई पनि क्वारेनटाइनका रुपमा प्रयोग गर्ने समितिले निर्णय गरेको हो । होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष अध्यक्ष अमृत श्रेष्ठका अनुसार ३ सय वेडको क्वारेन्टाईन होटलमा व्यवस्थापन गरिने बताए ।
यसैबीच समितिले सबै स्थानीय तहलाई कम्तिमा ३ सय जना व्यक्तिलाई राख्न मिल्ने स्थान पहिचान गरि क्वारेन्टाईन निर्माण गर्ने निर्णय गरेको छ । यस्तै प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रका नागरिकहरुको विवरण लिई कसैलाई क्वारेन्टाईन क्षेत्रमा राख्नुपर्ने भएमा स्वास्थ्य संस्थासँग सम्पर्क गरि क्वारेन्टाईनमा राख्ने निर्णय समितिले गरेको छ ।
यस्तै कोरोना व्यवस्थापनका लागि श्रोत साधनको व्यवस्थापन गर्न गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ भने जिल्लालाई आवश्यक पर्ने स्वास्थ्यकर्मी, औषधि उपचार, उपकरण लगाएत तत्काल आवश्यक पर्ने सामग्रीको विवरणको माग गरि प्रदेश सरकार र संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।




















