सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले गिट्टी कुटेर जीविका चलाउने १२ घर परिवारका ५३ जनाको बिहिबार स्वास्थ्य विमा गरेको छ । सिन्धुलीमाढीको ग्वाङ्गखोलाको किनारमा गिट्टी कुटेर दैनिकी चलाउदै आएका विपन्न मजदुर परिवारको निशुल्क स्वास्थ्य विमा गरेको हो । नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन सम्मान गरेका सबै परिवारको विमा गर्ने भएको छ ।
आर्थिक अभावका कारण स्वास्थ्य उपचार गराउन नसक्ने ८ सय परिवारको निशुल्क स्वास्थ्य विमा गराउन थालेको नगरपालिकाले गिट्टी कुटेर जीविका चलाउनेलाई प्राथमिकतामा राखि गिट्टी कुट्ने स्थानमै गई विमा गरिदिएको हो । नगरपालिकाले बिमा बापतको बार्षिक ३ हजार ५ सय स्वास्थ्य विमा बोर्डलाई दिने छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन नगरपालिकाले सम्मान गरेका मजदुर महिलाहरुले नगरपालिकाका मेयर खड्ग खत्री लगाएतको टिमलाई स्वास्थ्य विमामा सहभागी नभएको गुनासो गरेका थिए ।
नगरपालिकामा रहेर गिट्टी कुटेर जीविका चलाउने अति विपन्न सबैको बिमा गरिने कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताए । खत्री आफै गिट्टी कुट्ने मजदुरको कार्यस्थलमै पुगेर बिमा गराएका छन । कमलामाई नगरपालिका घर भई, पैसाको अभावमा स्वास्थ्य उपचार गर्न नपाई दुख पाउने स्थिति सृजना हुन नदिन बिमा कार्यक्रम लागु गरिएको मेयर खत्रीले बताए ।
नगरपालिकाले नीति तथा कार्यक्रममै मजदुरलाई निशुल्क बिमा गर्ने कार्यक्रम ल्याई चालु वर्षको हालसम्म ४०६ घरपरिवारका १८ सय ९८ जनाको स्वास्थ्य बिमा गरिसकेको छ ।




















