सिन्धुली । सिन्धुलीका सरकारी निकायका सूचना अधिकारीहरु नै सूचना विहिन भएको पाईएको छ । उनीहरुले सूचना उपलब्ध गराउन सूचना नै आफुसँग नहुने गरेको बताउँदै आएकाले त्यसको कार्यान्वयन पक्ष फितलो भएको पाईएको जिल्लाका पत्रकारहरुले गुनासो गरे । विशेष गरि जिल्लाका स्थानीय तह र ती मातहतका कार्यालयहरु कतिपय सूचना अधिकारी विहिन बनेको, कतिपयले सूचना अधिकारीलाई समेत सूचना नदिने गरेको जिल्लाका पत्रकारहरुले एक सार्वजनिक कार्यक्रममै गुनासो गरेका छन ।

कार्यक्रममा पत्रकारहरुले सरकारी कार्यालयहरु, स्थानीय सरकारहरुले लिखित सूचना माग्दा समेत निवेदन नै दर्ता नगर्ने, पुरा सूचना नदिने, सूचना दिनै आनाकानी गर्ने गरेको बताए । उनीहरुले अधिकांश कार्यालयहरुमा सूचना अधिकारीले समेत सूचना नपाउने अवस्था रहेको बताएका थिए । यस्तै स्थानीय सरकार मातहतका सूचना प्रदेश र संघिय कार्यालयले माग्दा समेत पाउन नसक्ने अवस्था रहेको उनीहरुले बताए ।
पत्रकारहरुले सिन्धुलीका सरकारी कार्यालय, स्थानीय तह लगाएतका वेभसाईडहरु अपडेट नहुने गरेको गुनासो गरेका छन । सूचना अधिकारी तोकिएका कार्यालयहरुमा पनि उनीहरुको सम्पर्क नम्बर नै अध्यावधिक नभएको पाईएको पत्रकारहरुको गुनासो छ ।
स्थानीय तहका सूचना अव्यवस्थित
जिल्लाका केहि स्थानीय तहले सूचना अधिकारीको व्यवस्था नगरेको पाईएको छ । अनुगमनका क्रममा हरिहरपुरगढी गाउँपालिकाले सूचना अधिकारी नै नराखेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताईन । उनका अनुसार सूचना अधिकारी तोकिएका स्थानीय तहमा पनि नागरिकको सूचनाको पहँुच नपुगेको पाईएको छ । कार्यक्रममा सूचनाको हक सम्बन्धि ऐन, यसको कार्यान्वयनको अवस्थाको बारेमा प्रस्तुति दिदै उनले त्यस्तो जानकारी दिएकी हुन । उनले सहजै सूचना उपलब्ध गराउन, सूचना अध्यावधिक गर्न र सूचनाको हकलाई कार्यान्वयन गर्न सूचना लिने र दिने संस्कारको विकास गर्न नसकिएको बताईन ।
तत्काल अनुगमन गर्न निर्देशन
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी सूर्य थापालाई जिल्लाको सूचनाको हकको प्रयोगको अवस्था अनुगमन गरि तत्काल प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाउन समेत निर्देशन दिएका छन । उनले सूचना पाउने हकको सुनिश्चितताको लागि तदारुकताका साथ प्रशासनले अनुगमन समेत गर्ने र त्यसपछि पनि सुधार नभएमा सूचना आयोगमा सिफारिस गर्ने प्रतिवद्धता जनाए ।
पत्रकार र अन्य नागरिकलाई सूचना दिदा अवस्था र समयलाई पनि ख्याल गर्न सूचना अधिकारीहरुलाई अनुरोध गरेका छन । प्रजिअ गौतमले पत्रकारलाई तत्कालै उपलब्ध हुने र पुराना हुने सूचना समयमा नै उपलब्ध गराउन जिल्लाका सूचना अधिकारीहरुलाई आग्रह गरेका हुन । उनले सूचनाको हकलाई प्रयोग गर्ने संस्कारको विकास गर्न पनि आग्रह गरे ।
कार्यक्रममा बोल्दै गौतमले सबै सरकारी कार्यालयले सूचना अध्यावधिक गर्न, विकासका काममा होर्डिङबोर्ड राख्न, सूचनामा नागरिकको सहज पहुँच बनाउन, सूचनाको हकलाई प्रयोग गर्दै आएका निवेदन दर्ता गरे सूचना उपलब्ध गराउन समेत आग्रह गरे । नियम संगत सूचना उपलब्ध नगराउने सूचना अधिकारी कारवाहिको भागिदार बन्न तयार हुन आग्रह समेत गरे । उनले सरकारी कार्यालयहरुमा सूचना व्यवस्थापन गरि सूचनाको हकको प्रयोगको अवस्था सुधार हुनुपर्ने बताउँदै २ महिनापछि त्यसको समिक्षा गरिने समेत बताए ।
उनले गैह्र सरकारी संस्था महासंघले संघसंस्थामा सूचना अधिकारी तोक्न र सूचना व्यवस्थित गराउन सहजीकरण गर्न समेत आग्रह गरेका छन । यस्तै जिल्लाका राजनीतिक दलले पनि सूचना अधिकारी तोक्नुपर्ने सुझाव दिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले स्वागत गरेका थिए भने हुराडेक नेपाल दोलखाका कार्यक्रम संयोजक सुस्पा भुजेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन । कार्यक्रम युएसएआईडि र एफएचआईको सहयोगमा भएको थियो ।



















