सिन्धुली । कमलामाई नगरपालिका ११ रानीचुरीकी पूजा थिङ (१८) ४ वर्ष अघि महिनावारी भईन । त्यतिबेला परिवारले बार्नुपर्छ भन्यो । उनले प्रतिवाद गर्ने आँट गरिनन । ३, ४ दिन घरमै महिनावारी बारेर बसिन । २ वर्षअघि जव उनी ओरेक नेपाल सिन्धुलीको सहजीकरणमा बनेको किशोरी समूहमा आवद्ध भईन तब महिनावारी बार्नु पर्दैन भन्ने कुरा थाहा पाईन ।
ओरेकले बनाएको दिपशिखा किशोरी समूहमा आवद्ध उनले महिनावारी भएका बेला बार्नुपर्दैन भन्ने कुरा सिकेपछि महिनावारी बारेकी छैनन । सिन्धुली बहुमुखी क्याम्पसमा विए दोस्रो वर्षमा पढ्दै गरेकी उनी यतिबेला आफु जस्तै किशोरी, आमाहरु, दिदीहरु, भाउजुहरुलाई महिनावारी प्राकृतिक नियम हो, बार्नु पर्दैन भनेर बुझाउँछिन । व्यक्तिगत सरसफाईका बारेमा सिकाउँछिन । किशोरीहरुलाई महिनावारी बार्न लगाएको थाहा पाउनासाथ किशाोरी समूहका साथिहरुसँग मिलेर जान्छन र अविभावकलाई सम्झाउँछन । जसका कारण गाउँमा नयाँ पुस्तामा महिनावारी बार्ने प्रचलनमा कमी आएको छ ।

रानीचुरीमा रहेको उक्त किशोरी समूहमा २० जना किशोरी छन । उनीहरु र उनीहरुका परिवारमा महिनावारी बार्ने चलन नै हराई सकेको छ । कसैको घरमा महिनावारी वार्न बाध्य पारेको थाहा हुनासाथ समूहमै त्यहाँ पुग्छन, सम्झाउँछन, बुझाउँछन । तर बुढाबुढीलाई सम्झाउनै गाह्रो हुने उनीहरुको भोगाई छ । पूजा भन्छिन, ‘बुझाउन धेरै गाह्रो छ, युवा पीढिले त बुझ्छन, बुढापाकाले मान्दैनन ।’ उनको किशोरी समूहले एकवर्षमा महिनावारी बार्न बाध्य पारेका २५ जना बढीलाई महिनावारी नवार्ने अवस्थामा पु¥याएका छन ।
यस्तै अर्को समूह दुधौली नगरपालिका वडा नं. ३ निपानेमा ओरेकले नै समाज सुधार किशोरी समूह बनायो । जुन समूहका किशोरीहरुले महिनावारीबारे निकै सफलतापूर्वक काम गरेका छन । यहाँका किशोरीहरुले महिनावारी नवार्ने र यसबारे चेतना दिने काम गरिरहेका छन । किशोरी सञ्जालका शुशिला अधिकारीले अभिमुखीकरण र प्याड बनाउने तालिम पाएपछि परिवर्तन आएको बताईन । उनका अनुसार यो ठाउँमा महिनावारी बार्ने, भान्सामा नजाने, मन्दिर नजाने लगाएतका काम गर्दैनथे । आजभोली भने धेरै किशोरी तथा महिलाहरुले महिनावारी बार्न छोडेका छन । यहाँ ओरेककै सहजीकरणमा प्याड बनाउने, व्यक्तिगत सरसफाईबारे ज्ञान दिएपछि यसमा निकै सुधार पनि आएको छ ।
शुशिला भन्छिन, ‘हामी आफै प्याड बनाउँछौं, महिनावारीका समयमा हुने समस्याबारे जनचेतना जगाउँछौं, व्यक्तिगत सरसफाईबारे किशोरी तथा महिलाहरुलाई सिकाउँछौं । यसले हाम्रा पुराना मान्यता पनि फेरिएका छन ।’ उनीहरुको अभियानमा प्रगतिशिल युवा सञ्जाल, समाज परिवर्तन युवा महिला समूहले किशोरीहरुलाई साथ दिएको छ । किशोरीहरुको अभियानमा सूर्यमुखी महिला वचत तथा सहकारी संस्थाले अविभावकत्व प्रदान गरिरहेको छ ।
यी उदाहरण मात्र हुन । ओरेकले दुधौली नगरपालिकाको वडा नं. ३, कमलामाई नगरपालिकाको वडा नं. २, ९, ११ र १३ मा किशोरी समूह बनाएको छ । ती समूहलाई हानीकारक परम्परागत अभ्यासका बारेमा र लैंगिक हिंसा विरुद्धमा सहजीकरण गरिरहेको छ । जसका कारण समाज परिवर्तनमा उनीहरुले योगदान गरिरहेका छन । अझ महिनावारी बार्ने (छाउपडी) जस्तो परम्परालाई अन्त्य गर्न किशोरीहरुको अभियान प्रभावकारी बन्दै गएको छ ।
ओरेक सिन्धुलीका संयोजक सपना थापाका अनुसार किशोरीहरुमा महिनावारी र व्यक्तिगत सरसफाई प्रभावकारी बनेको छ । यस्तै उनीहरुले बालविवाह, महिला हिंसा, घरेलु हिंसा, मदिरा विरुद्धको अभियान लगाएतका अभियान प्रभावकारी रुपमा सञ्चालन गरेका छन । यसले समाजमा सकारात्मक परिवर्तनहरु समेत आएका छन ।




















