सिन्धुली/प्रदेशसभा सदस्य विजुला बर्माले महिला हिंसा विरुद्धको कानुन कार्यान्वयनको अवस्था फितलो भएका कारण महिला हिंसाका घटनामा वृद्धि भएका बताएकी छिन । मंगलबार सिन्धुलीमाढीमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले व्यवहारिक पक्ष र कार्यान्वयन पक्ष फितलो भएमा कानुन नै फेल हुने बताउँदै समाजलाई परिवर्तन ल्याउन शिक्षा र सचेतना आवश्यक रहेको बताईन ।
बर्माले नेपालमा बलात्कारका घटनामा अत्यधिक वृद्धि भएको बताउँदै बलात्कारीको पक्षमा वकालत गर्ने वकिललाई समेत कारवाहिको दायरामा ल्याउनुपर्नेमा जोड दिईन । उनले बलात्कार विरुद्ध सबैको आवाज एक हुनुपर्नेमा जोड दिईन ।
समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ मनाईएको अभियानको समापनका अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य उमा कोइरालाले संविधान र राज्यले स्वीकार गरेको ३३ प्रतिशत सहभागिता कार्यान्वयनमा ल्याउन सबै क्षेत्रका महिलाहरु लाग्नुपर्नेमा जोड दिईन । उनले महिला आन्दोलनलाई स्मरण गर्दै संविधानले राजनीतिक, आर्थिक, सामाजिक अधिकारलाई सुनिश्चित गरे पनि कार्यान्वयनमा समस्या रहेको बताईन । उनले कार्यान्वयनको अवस्थालाई बलियो बनाउन महिलाहरु चुलोचौको छोडेर बाहिर आउन पनि आग्रह गरिन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले लैंगिक हिंसा अन्त्य गर्न सुधारात्मक र दण्डात्मक शैलीको प्रयोग गर्नुपर्ने अवस्था आएको बताए । उनले अभाव, विपन्नता र बेरोजगारीले हिंसालाई बढावा दिईरहेको बताउँदै सिप र रोजगारी सृजना गर्न आवश्यक रहेको बताए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मूल आयोजक समिति कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेसका माणिक ढकाल, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष पार्वती थापा, नेपाल महिला संघका गंगा दाहालले मन्तव्य व्यक्त गरेका थिए । कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य रश्मिला देवकोटाले स्वागत गरेकी थिईन ।





















