सिन्धुली । जिल्लाका ४० जना कर्मचारी छड्केमा परेका छन । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा २३ जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएको हो । यस्तो सोहि अनुगमनमा १७ जना कर्मचारीले तोकिएको पोशाक नलगाएको पाईएको छ । यसरी छड्के अनुगमनमा पर्नेमा सबैभन्दा बढी जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाका कर्मचारी रहेका छन । उक्त कार्यालयमा १३ जना कर्मचारी अनुपस्थित देखिएको छ भने १४ जनाले तोकिएको पोशाक नलगाएको पाईएको छ ।
यस्तै डिभिजन वन कार्यालय सिन्धुलीका ५ जना कर्मचारी छड्केमा परेका छन । जसमा ४ जना अनुपस्थित र १ जना तोकिएको पोशाक बाहिर रहेको पाईएको छ । यस्तै शहरी विकास तथा भवन डिभिजन कार्यालयमा १ जना अनुपस्थित र १ जना विना पोशाकमा भेटिएको छ । यस्तै सिन्धुली अस्पतालमा ५ जना कर्मचारी अनुपस्थित देखिएको छ भने एकजना विना पोशाक कार्यालय आएको पाईएको राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायव उपरिक्षक राजेन्द्र कुमार पोखरेलले बताए ।




















