सिन्धुली/वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले सिन्धुलीबाट वेपत्ता पारिएका मध्ये ११ जनाको विस्तृत छानविन सकिएको जनाएको छ । आयोगले सिन्धुलीबाट परेका ३८ उजुरीमध्ये २५ वटा उजुरीलाई विस्तृत छानविनको सूचिमा राखेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेबाट सुरु गरेको सशस्त्र द्वन्द्वदेखि २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौताको अवधिमा सिन्धुलीबाट बेपत्ता भएकामध्ये ११ जनाको अवस्थाको बारेमा छानविन सकिएको आयोगका सचिव कृष्णजीवि घिमिरेले बताए ।
उनका अनुसार आयोगले सिन्धुलीका ६ वटा मुद्दालाई तामेलीमा राखेको छ भने २ वटा मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएकोमा १ वटा मुद्दा फिर्ता आएको घिमिरेले बताए । बाँकी ६ वटा मुद्दा दोहोरो परेर कटाइएको पनि घिमिरेले जानकारी दिए ।
वेपत्ता नागरिकका बारेमा जिल्लाका सरोकारवाला, पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मीसँग आइतबार सिन्धुलीमाढीमा छलफल गर्ने क्रममा घिमिरेले यस्तो जानकारी दिएका हुन । आयोगले निवेदनमाथि पुनः छानविन गर्नका लागि सिन्धुली आएको जनाउँदै उनले सरोकारवालालाई छानविनमा सहयोग गर्न आग्रह समेत गरेका छन । उनले नेपाल पत्रकार महासंघ, इन्सेक, नेपाल बार यशोसियसन, प्रहरी, प्रशासन लगाएतलाई आयोगको छानविनमा प्रमाण संकलन र तथ्यांक अध्यावधिकमा सहयोग गर्न आग्रह गरेका छन ।
छलफलमा बोल्दै सिन्धुली अदालतका न्यायाधिस किरण प्रसाद सिवाकोटीले पीडितलाई छिटो न्याय दिलाउन र छिटो मुद्दाको पहिचान गर्न आयोगले ध्यान दिनुपर्ने बताए । उनले पीडितको न्यायका लागि सबै सरोकारवालाको दायित्व समेत रहेकाले सहयोग गर्न आग्रह समेत गरेका छन । उनले द्वन्द्वकालिन घटनाको रेकर्ड राख्ने काम इन्सेकले गरेको भन्दै इन्सेकको तथ्यांक भरपर्दो तथ्यांकका रुपमा लिन सकिनेमा जोड दिए ।
सिन्धुलीबाट वेपत्ता भएका व्यक्तिहरुमध्ये हालसम्म १४ जनाका परिवारले राज्यबाट प्रदान गरिएको राहत बुझेका छन भने इन्सेकको तथ्यांकमा सिन्धुलीबाट १४ जना बेपत्ता भएको रेकर्ड छ ।
हालसम्म ६४ जिल्लाबाट आयोगमा ३ हजार एक सय ९७ वटा उजुरी परेकोमा आयोगले २ हजार ५ सय १८ वटा उजुरी एकिन गरी छानविन गरिरहेको आयोगले जनाएको छ । अन्य जिल्लामा भने आयोगले प्रारम्भिक काम समेत गरेको छैन ।





















