सिन्धुली । कमलामाई नगरपालिका सिन्धुली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको साझेदारीमा विपी राजमार्गमा चल्ने सवारी साधनमा सरसफाई स्टिकर टाँस्न सुरु गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा बुधबार कमलामाई नगरपालिका वडा नं. ४ को ढुंगे्रबासबाट उक्त कार्यक्रम सुरु गरिएको हो ।
सवारी साधानमा सवार यात्रुहरुले फोहोर फालेका कारण पर्यटकीय राजमार्ग विपी राजमार्ग र सिन्धुलीका मुख्य बजार क्षेत्र समेत फोहर हुदै गएको र सरसफाई गर्दा समेत सडक आसपास सफा हुन नसकेको भन्दै नगरपालिका र प्रहरीले संयुक्त रुपमा यो अभियान थालेको हो । कमलामाई नगरपालिकाको चुरेदेखि सिन्धुलीगढीसम्मको क्षेत्रमा यो अभियान चलाइने छ ।
टाँसिएका स्टिकरमा सार्वजनिक सवारीमा यात्रा गर्दा जथाभावी फोहोर नफालौं, सार्वजनिक सवारीमा अनिवार्य डस्विनको व्यवस्था गरौं, सार्वजनिक सवारीबाट निस्कने फोहोरलाई उचित स्थानमा रहेको डस्विनमा राख्ने बानी बसालौं जस्ता नाराहरु राखिएको छ ।

कार्यक्रमको उद्घाटन स्टिकर टाँस गरेर प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले गरेका छन । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अनुसार नगरपालिका र प्रहरीले साझेदारीमा यो कार्यक्रम लागु गरेको हो ।
विपी राजमार्गको सरसफाईसँगै सबै सवारी साधनमा स्टिकर, फोहोर जम्मा गर्ने प्लाष्टिक र पम्पलेटहरु वितरण गर्न थालिएको छ । साथै हरेक सवारी साधान र यात्रुहरुलाई विपी राजमार्गमा फोहोर नफाल्न समेत सुझाव दिईएको छ । त्यस्तै सबै सवारी साधनलाई सवारी साधानमा डस्विनको व्यवस्था गर्न समेत सचेत गराईएको छ । यो क्रम निरन्तर जाने र ट्राफिक प्रहरी पोष्ट सिन्धुली, इलाका प्रहरी कार्यालय भिमान लगाएतका प्रहरी चौकी तथा कार्यालयहरुले स्टिकर टाँस्ने कामलाई निरन्तरता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका असई रामेश्वर पाण्डेले बताए । स्टिकर, पम्पलेट लगाएतको सम्पूर्ण आर्थिक व्यवस्थापन नगरपालिकाले गर्ने छ ।
उनका अनुसार राजमार्गको ठाउँ ठाउँमा सिविलमा प्रहरी राख्ने र फोहोर फाल्ने सवारी साधनलाई नगरपालिकामा उजुरी गरि कारवाहि प्रक्रियामा ल्याइने छ । सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई ५ सय देखि ५ हजारसम्म जरिवाना गर्ने प्रावधान भएको र कारवाहि नगरी सडक सफा राख्न नसकिएकाले कारवाहि प्रक्रियामा जान थालिएको उनले बताए ।
यस्तै जिल्ला भित्रका सडकमा चल्ने सवारी साधनहरुमा पनि सरसफाई स्टिकर टाँसिने छ भने अन्य सार्वजनिक क्षेत्रमा पनि नगरपालिकाले तोकेको स्थान बाहेकका स्थानमा फोहोर फालेमा कारवाहि प्रक्रियामा जाने कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले बताए ।





















