सिन्धुली । संघीय सरकारले सिन्धुली जिल्लाको लागि दुई अर्ब ७३ करोड ६२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ का लागि जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकालाई सरकारले उक्त बजेट विनियोजन गरेको हो ।
सिन्धुलीका दुई नगरपालिकाको लागि एक अर्ब दुई करोड ८६ लाख र सात गाउँपालिकाको लागि एक अर्ब ७० करोड ७६ लाख रुपियाँ विनियोजन गरिएको छ ।
जस अनुसार, कमलामाई नगरपालिका ५५ करोड १२ लाख र दुधौली नगरपालिका ४७ करोड ७४ लाख रुपियाँ रहेको छ । गाउँपालिकामा सबैभन्दा बढी बजेट तीनपाटन गाउँपालिकाले ३६ करोड ३३ लाख प्राप्त गरेको छ भने सबैभन्दा कम बजेट घ्याङलेख गाउँपालिकाले सबैभन्दा थोरै घ्याङ्लेखमा १६ करोड ४२ लाख बजेट प्राप्त गरेको छ ।
त्यस्तै गोलन्जोर गाउँपालिका २४ करोड ५३ लाख, तीनपाटनमा ३६ करोड ३३ लाख, फिक्कलमा २२ करोड ४९ लाख, मरिण २३ करोड ४१ लाख, सुनकोशी २५ करोड १६ लाख र हरिहरपुरगढीमा २२ करोड ४२ लाख रुपियाँ विनियोजन गरिएको छ ।




















