सिन्धुली / जिल्लाको विकट गाउँपालिका मानिने घ्याङलेख गाउँपालिकाको आन्तरिक आयको स्रोत सिफारिस शुल्क मात्र रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले गाउँपालिकाको आन्तरिक आय शुन्य जस्तै रहेको बताए ।
जसका कारण कार्यालय सञ्चालनमा समेत समस्या हुदै आएको छ । यो गाउँपालिकामा नियमित यातायातका साधन चल्दैनन, विद्युतको विस्तार हुन सकेको छैन । नदिजन्य सामग्री र वनस्पति निकासीबाट केही रकम आम्दानी हुने भए पनि प्रदेश सरकारले २ करोड भन्दा कम ठेक्का लगाउन नपाउने भनेपछि, २० देखि २५ लाख रुपैयामा ठेक्का लाग्ने गाउँपालिकाका नदी जन्य पदार्थ निकासी पनि रोकिएको उनले बताए ।
९८ प्रतिशत जति जनसंख्या जनजाति त्यसमा पनि तामाङ समुदाय बाहुल्यता रहेको यो पालिकामा शिक्षित जनशक्तिको कमी रहेको र अधिकांश बैदेशिक रोजगारीमा रहेको अध्यक्ष भोलनले बताए । उनका अनुसार विकासमा चासो दिने जनशक्ति नै गाउँपालिकामा छैन । यहाँका मानिसलाई जिल्ला सदरमुकाम गएर आउन एक दिनभन्दा वढी लाग्छ, सरकारी कामकाज गर्नु प¥यो भने बास बस्नुको विकल्प छैन, भोलनले भने ।



















