सिन्धुली/कमलामाई नगरपालिका सिन्धुलीले ८८ सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । मंसिर १ गतेदेखि सत्केरी पशुलाई भत्ता दिन सुरु गरेको नगरपालिकाले हालसम्म ८८ सुत्केरी पशुलाई भत्ता उपलब्ध गराएको जनाएको छ ।
नगरपालिकाले गत मङसिर १ गतेदेखि नै कृषकबाट सुत्केरी पशुको भत्ता दिन निवेदन सङकलन गरेर पुस मसान्तसम्ममा संकलित निवेदनका आधारमा ८८ वटा सुत्केरी पशुलाई सुत्केरी भत्ता उपलब्ध गराएको हो ।
नगरपालिकाले प्रति सुत्केरी पशु बराबर एक हजारका दरले ८८ हजार रुपैंया सुत्केरी भत्ता वितरण गरेको जनाएको छ । ८८ वटा सुत्केरी पशुमध्ये ४७ सुत्केरी गाई र ४१ वटा सुत्केरी भैसीलाई सुत्केरी भत्ता वितरण गरिएको पशु विकास शाखा प्रमुख एवम् पशु चिकित्सक हरिहर लामिछानेले बताए ।
सुत्केरी भत्ता लिनेमा ४, ५, ६, ७ र ११ वडाका किसानहरु रहेका छन् । नगरक्षेत्रभित्रका किसानले पालेको गाई भैंसी ब्याउँदा सुत्केरी भत्ता स्वरुप एक हजार रुपैयाँ भत्ता दिन थालिएको हो । नगरक्षेत्र भित्र सफा र स्वस्थ दुध उत्पादन बढाउने उद्देश्यले सुत्केरी भएका गाई भंैसीलाई खाद्यान्न सहयोगका लागि एक पटक नगद एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन थालिएको लामिछानेले बताए ।
किसानले पशुको सुत्केरी भत्ता लिन वडा कार्यालयको सिफारिस, पशु धनी र ब्याएको गाईभैँसीको बच्चा सहित देखिने फोटो र नागरिकताको प्रतिलिपि सहितको निवेदन नगरपालिकामा दर्ता गर्नु पर्ने हुन्छ । उपलब्ध गराएको भत्ताबाट किसानले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउनु पर्ने छ ।





















