सिन्धुली/जिल्लामा आत्महत्याको दरमा वृद्धि भएको छ । ३ वर्षको तथ्यांकलाई हेर्दा यस्तो देखिएको हो । यो वर्ष अर्थात सन २०१८ मा आत्महत्याको दर बढी देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस वर्ष जिल्लामा ६८ जना व्यक्तिहरुले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा पुरुषको संख्या बढी रहेको छ । यस अवधिमा ३७ जना पुरुष र ३१ जना महिलाले आत्माहत्या गरेका छन ।
अघिल्लो बर्ष अर्थात सन २०१७ मा ५२ जनाले आत्महत्या गरेका थिए । जसमा पुरुष २८ र महिला २४ जना थिए । त्यस्तै सन् २०१६ मा आत्महत्या गर्नेको संख्या ६२ थियो । जसमा महिला ३० जना र पुरुष ३२ जना थिए । तीनवर्षको तथ्यांकलाई हेर्दा आत्महत्या गर्नेमा पुरुष अगाडि देखिएका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसन्धान अधिकृत एवम् इन्स्पेक्टर जेसी शाहका अनुसार आत्महत्या गर्नेहरुको उमेर प्रायः ३० देखि ५० वर्ष रहेको छ । उनका अनुसार महिलाहरुले घरेलु हिंसा तथा पारिवारीक तनावका कारण आत्महत्या गरेको पाइन्छ भने पुरुषहरुले आर्थिक बोझ पुरा गर्न नसक्नु नै आत्महत्याको कारण देखिएको छ ।
जिल्लामा आत्महत्या गर्ने पुरुषहरुमा प्रायः विष सेवन गरेर आत्महत्या गरेको पाइन्छ भने महिलाहरुले झुण्डीएर आत्महत्या गर्ने गरेको पाईएको शाहले बताए । ‘आत्महत्या गर्नेहरुले सुसाईट नोट लेखेको पाइदैन तर कारण खोजी गर्दा आर्थिक भार, विरामी हुनु र पारिवारिक बेमेल नै देखिएको पाइन्छ’, शाहले भने ।



















