सिन्धुली । परिवर्तन जागरण क्लबको सहयोगमा प्रगतिशिल प्रतिभा केन्द्रले महोत्सवको आकर्षणका रुपमा तयार गरेको सिन्धुली कलाघरलाई संगम पाहुना घर स्टल बजारका प्रोपाईटर बेल बहादुर बसेलले ६० हजार रुपैंया बराबरको नेपाली नौमति बाजा विहिबार हस्तान्तरण गरेका छन । भोली (पुस १३ गते) देखि सुरु हुने प्रादेशिक महोत्सवको आकर्षणका रुपमा बनाईएको कलाघरलाई नपुग भएको मौलिक नौमति बाजा हस्तान्तरण गरेको बसेलले बताए । यस्तै स्थानीय युवा दिपेश थापाले दश हजार रुपैंया सहयोग समेत गरेका छन ।
केन्द्रका कलाकारहरुको सक्रियतामा बनेको उक्त कलाघरमा मौलिक कला, संस्कृतिलाई जोगाउने कलाहरु राखिएको छ । स्थानीय सामानहरुको प्रयोगबाट बनाईएको उक्त घर र स्थानीय युवाहरुको सम्मान स्वरुप उक्त बाजा सहयोग गरिएको बसेलले बताए । नौमति बाजा हस्तान्तरणपछि कार्यक्रमका अतिथिहरु खड्गबहादुर खत्री, अम्रेशचन्द्र बैदार, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्धारिका काफ्ले लगाएतले नौमती बाजा बजाएका थिए ।
कार्यक्रममा प्रगतिशिल प्रतिभा केन्द्रका कलाकारहरुले नौमती बाजा बजाई अतिथिहरुलाई नचाएका थिए । कलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न कार्यक्रमका सहभागिहरुले कलाकारहरुलाई थप उर्जा प्रदान गरेका थिए ।





















