सिन्धुली । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित ४५ जना नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।
विप्लव नेतृत्वको नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी हरिकृष्ण घिमिरे र क्रान्तिकारी पत्रकार संघ सिन्धुलीका संयोजक एस् पी गौरव सहित ३७ जना नेकपाबाट र नेपाली काँग्रेसका गाउँ सचिव टेकबहादुर श्रेष्ठको नेतृत्वमा ७ जना नेपाली काँग्रेसबाट नेकपामा प्रवेश गरेका हुन् ।
बिहिबार हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरमा पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्दै उनीहरु सत्तारुढ दल नेकपामा प्रवेश गरेका हुन् । नेपालको विकास समृद्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्दा अरु दलबाट सम्भव नभएको भन्दै उनीहरुले पार्टी प्रवेश गरेको बताएका छन् ।
विप्लव नेतृत्वको नेकपामा व्यक्तिगत स्वतन्त्रता नभएको तथा सहीलाई सही र गलतलाई गलत भन्ने वातावरण समेत नभएको भन्दै आफूहरु नेकपामा प्रवेश गरेको पार्टी प्रवेशको नेतृत्व गरेका हरिकृष्ण घिमिरे बताउँछन् । विप्लव नेतृत्वको नेकपाले चन्दा संकलनको नाममा जनतालाई दुःख दिने गरेको भन्दै आफूहरुको उचित गन्तव्य नेकपा भएकाले पार्टी प्रवेश गरेको उनको भनाई छ ।
उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमलजंग राईले अविर लगाइदिएर पार्टी प्रवेश गराएका थिए ।
केन्दीय सदस्य कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय उमा कोइराला, राजन दाहाल यसैगरी प्रदेश सदस्यहरु प्रदिप कटुवाल, खड्ग खत्री, शान्तिमान कार्की, गणेश बुढाथोकी, नेकपाका जिल्ला नेताहरु कार्साङ लामा, कर्ण घिसिङ, दिपेश बराल लगायतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।





















