सिन्धुली/शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि आइतबारदेखि देशभर समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ सिन्धुली सहित देशै भर उक्त कार्यक्रम सुरु भएको हो । प्रहरी प्रधान कार्यालयको आयोजना तथा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौडा, जिल्ला प्रहरी कार्यालय सिन्धुली र सिन्धुलीका नौ वटै स्थानीय तहको संयोजनमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक कार्यक्रम गरि उक्त कार्यक्रम सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी ढकालले गमलामा पानी हालेर गरेका छन ।
कार्यक्रमको अवधारणाका बारेमा जानकारी दिदैं प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले प्रहरीले नेपाल प्रहरी, स्थानीय तह, समुदाय, समाजिक संघसंस्था र विद्यालयको समन्वय र साझेदारीमा विकास, अपराध नियन्त्रण सामाजिक सुरक्षा मेलमिलाप जस्ता कार्यमा सहकार्य गर्ने बताए ।
उनले कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय, प्रदेश, जिल्ला, स्थानीय तह र हरेक वडा तथा टोलस्तरमा समिति गठन गरि कार्यक्रमलाई अगाडि बढाउने समेत जानकारी दिए । जसका लागि एकदुई दिनमै गाउँ तथा नगरपालिका स्तरीय सम्झौता गरिने पनि जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ढकालले शान्तिसुरक्षा र विकासलाई सँगै लानका लागि साझेदारी गर्न सबै निकायहरुलाई आग्रह गरेका छन । उनले समाजमा रहेका विकृति, अपराधहरुलाई न्युनिकरण गर्न सबै नागरिकहरुले अपनत्व लिन सक्ने गरि भूमिका निर्वाह गर्न आग्रह समेत गरे । उनले सामाजिक सुधार सबैको दायित्व भएको बताउँदै असल, सुव्यवस्थित र अपराध रहित समाज निर्माण गर्न सबैले आफ्नै अभियान सम्झेर सहयोग गर्न सबैलाई अपिल समेत गरे ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका प्रवक्ता एवम् निमित्त मेयर कर्ण घिसिङले अपराध नियन्त्रणको जिम्मेवारी स्थानीय तहको पनि भएकाले सरकारले लागु गरेको यो कार्यक्रमको कार्यान्वयनमा सहकार्य गर्नु जिम्मेवारी भएको बताए । उनले स्थानीय तहको तर्फबाट सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले समुदाय प्रहरी साझेदारीले महिला तथा बालबालिका माथि हुने अपराध र हिंसा नियन्त्रणमा उल्लेख्य सहयोग हुने विश्वास व्यक्त गरिन । उनले समुदाय र प्रहरीबीचमा पछिल्लो समय अपराध अनुसन्धानमा अविश्वास सृजना भएको बताउँदै यो कार्यक्रमले त्यो अविश्वासलाई मेटाउने तर्फ महत्वपूर्ण भूमिका निर्वाह हुने बताईन ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी ज्ञानप्रसाद ढकाल, शिक्षा इकाई अधिकारी रमेश थापा, सामुदायिक सेवा केन्द्र सिन्धुलीका अध्यक्ष राम बहादुर हायु, लैंगिक हिंसा नियन्त्रण कार्यकारी समितिका अध्यक्ष शुशिला थिङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले धन्यावाद व्यक्त गरेका थिए ।
प्रहरीले अघि सारेको यो कार्यक्रममा आधारभूत सुरक्षा, प्रहरी र स्थानीय तहबाट प्राप्त हुने सहयोग, सिसिटिभी लगायत प्रविधिको विस्तार, महिला बालबालिका, ज्येष्ठ नागरिकमाथि हुने हिंसा नियन्त्रण, दाइजो, बालविवाह, छाउपडी, बोक्सी प्रथाको नियन्त्रण आदि समेटिएको छ । यस्तै प्रहरीले नागरिकसँगको सहकार्यमा मानव बेचबिखनको नियन्त्रण, एकीकृत घुम्ती शिविर सञ्चालन, सडक सुरक्षा, लागु औषध निषेध र मदिरा नियन्त्रण, विपद व्यवस्थापन, साइबर सुरक्षा र प्राकृतिक स्रोतसाधनको दोहन र दुरुपयोगमा पनि विशेष ध्यान दिने योजना अघि सारेको छ ।
यसका लागि सरकारी र गैरसरकारी निकायसँग आवश्यक साझेदारी गर्ने प्रहरीको योजना छ । प्रहरीले अघि सारेको कार्यक्रम ७५३ स्थानीय तह, ६ हजार ७ सय ४३ वडाहरु, २५ सय ४५ प्रहरी इकाई, ३६ हजार निजी तथा सामुदायिक विद्यालय, १० हजार संघसंस्था, ३५ हजार जनप्रतिनिधि, ४० लाख अभिभावक, ४० हजार शिक्षक र ७५ लाख विद्यार्थीमाझ पुग्ने लक्ष्य लिएको छ ।




















