सिन्धुली, ७ कात्तिक । समाजसेवी एवं राजनीतिज्ञ स्व। मोहनविक्रम थापाको स्मृतिमा विहीवारदेखि सिन्धुलीको भिमानमा ‘मोहनविक्रम स्मृति कप फूटबल प्रतियोगिता’ शुरु हुने भएको छ । सिन्धुली जिल्लामा आयोजना भएका अहिलेसम्मका खेलकुदहरुमा सबैभन्दा ठूलो धनरासीको पुरस्कार यसपटक राखिएको छ ।
बुधवार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा सिन्धुली ट्रष्टका अध्यक्ष उज्वल विक्रम थापाले भने, ‘फाइनल खेलमा प्रथम हुने टिमलाई डेढ लाख रुपियाँ नगद र तक्मा पुरस्कार राखिएको छ । दोस्रो हुने टिमलाई रु पचार हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।’ बरिष्ठ समाजसेवी थापाले विहीवार विहान ११ बजे फुटबल खेल उद्घाटन गर्ने तय भएको छ । उक्त प्रतियोगिता कात्तिक १७ गतेसम्म सञ्चालन हुने थापाले जानकारी दिए ।
प्रतियोगिताको आयोजक स्थानीय भीमान युवा क्लब आयोजक हो भने सिन्धुली ट्रष्ट नेपाल सहयोगी संस्थाको रुपमा रहेको छ । भीमानस्थित जनजागृति माध्यामिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुनेछ । खेलका लागि बुधवार साँझसम्म १४ टिमले दर्ता गराएको भीमान युवा क्लबका सचिव दिनेश न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अध्यक्ष थापाले सिन्धुलीलाई खेलकुदमा अगाडि बढाउन आफ्नो प्रयासमा ठूलो पुरस्कारको रासी राखिएको र भविश्यमा थपिँदै जाने घोषणा गरे । उनले सिन्धुलीमा आगामी बर्ष गोल्डकप आयोजना गर्ने गरी अघि बढ्ने बताए । अध्यक्ष थापाले भने, ‘अहिलेसम्म धरान र पोखरामा गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएका छन् । सबैको साथ सहयोग रहेमा निकट भविश्यमा सिन्धुलीमा गोल्डकप आयोजना गर्ने शोचेका छौँ ।’ उनले सिन्धुलीमा खेलकुदको सम्भावना प्रचुर रहेको र रंगशाला निर्माणका लागि पनि आफूले सक्दो प्रयास गर्ने उद्घोष गरे ।
गत बर्ष स्व. मोहन विक्रम थापा स्मृति कप फुटबल आयोजना भएको थियो । यसपटक हुन लागेको प्रतियोगिता दोस्रो हो । भीमान युवा क्लबले भविश्यमा गोल्ड कप आयोजना गर्ने गरी क्लबको क्षमताबृद्धिसँगै तयारी थाल्ने पनि सचिव न्यौपानेले जानकारी दिए । उनका अनुसार विहीवार उद्घाटन खेलमा आयोजक भीमान युवा क्लब ए र जनसंगम युवा क्लब चन्दनपुरबीच प्रतिस्पर्धा हुने छ ।





















