सिन्धुली/नगरपालिकाको लैंगिक विभेदमा आधारित हिंसा विरुद्धको मस्यौदा नीति तयार भएको छ । उक्त रणनैतिक कार्ययोजनाको मस्यौदा माथि शनिबार पहिलो चरणको छलफल कार्यक्रमको आयोजना गरिएको छ । मस्यौदामाथि जिल्लाका सरोकारवालाहरुसँग समन्वय गर्ने र सुझाव संकलन गर्ने उद्देश्यले शनिबार सिन्धुलीमाढीमा छलफल कार्यक्रमको आयोजना गरिएको हो । कमलामाई नगरपालिका सिन्धुली र महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा छलफल कार्यक्रमको आयोजना गरिएको हो ।
कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप संयोजक सम्झना अधिकारी दनुवारले लैंगिक हिंसा विरुद्धको रणनीतिक कार्य योजना कमलामाई नगरपालिकामा मात्र सिमित नराखी यसलाई सिन्धुलीका सबै नगर तथा गाउँपालिकाहरुमा पु¥याउन सुझाव दिईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले यो प्रारम्भिक मस्यौदा मात्र भएको भन्दै यसलाई चाँडै नै अन्तिम रुप दिने बताईन । उनले यसलाई तत्कालै सबै वडा तहहरुमा छलफलका लागि पुराई अन्तिम रुप दिनका लागि लाने र बृहत छलफलको आह्वान गरी वैधानिकता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
यस्तै कमलामाई नगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष एवम् कार्यपालिका सदस्य सदस्य राम बहादुर थिङ्गले यो कार्ययोजना एक नमुनाकै रुपमा आएको भन्दै यसलाई कार्यपालिकाको बैठकमा छलफल गरी कार्यान्वयनमा लैजान आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य द्वारिका काफ्ले, पेशागत महासंघ सिन्धुलीका अध्यक्ष टोम प्रसाद काफ्ले, प्राध्यापक विश्वनाथ शर्मा, प्लान नेपालका प्रमुख राम बहादुर श्रेष्ठ लगाएतले सुझाव सहितको मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा महिला मानवअधिकार सञ्जाल सिन्धुलीका उपाध्यक्ष अप्सरा खड्काले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।
गत मिति २०७५ जेठ ११ गते लैंगिक हिंसा विरुद्धको रणनैतिक योजनाका लागि कमलामाई नगरपालिकाको बैठकले कार्ययोजना निर्माणका लागि कार्यदल गठनका साथै विषय विज्ञका रुपमा महिला मानवअधिकार रक्षकहरुका सञ्जालका अध्यक्ष तथा महिला मानवअधिकारकर्मी डा. रेणु अधिकारीलाई योजना निर्माणमा सहजीकरणको जिम्मा दिइएको थियो ।
कार्यक्रममा महिला मानवअधिकार रक्षकहरुले ४३ संघसंस्थाहरुसँग प्रश्नावली निर्माण गरी संकलन गरिएको सुझावका आधारमा डा. अधिकारीले लैंगिक हिंसा विरुद्धको रणनैतिक कार्ययोजनाको मस्यौदा छलफलका लागि प्रस्तुत गरेकी थिइन ।
अबको ३ वर्ष भित्र लैंगिक हिंसा मुक्त नगरपालिकाको आधार तयार गर्ने उद्देश्य लिएको सो नीतिले लैंगिक विभेदमा आधारित हिंसाका बारेमा स्पष्ट दृष्टिकोण, हिंसा प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता र सहयोगी बातावरण निर्माण गर्न अग्रसरता भएमा निर्धारित समय सिमा भित्र कमलामाई नगरपालिकालाई लैंगिक मैत्री नगरपालिका बनाउन सकिने मान्यता लिएको समेत अधिकारीले सो अवसरमा बताइन ।
कार्यक्रममा महिला मानवअधिकार रक्षकहरु जिल्ला सञ्जालका अध्यक्ष भद्रा राजभण्डारीले कार्ययोजना निर्माणका लागि गरिएको सर्वेक्षणका निष्कर्षहरु तथा संकलित सुझावहरु प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा सहभागीहरुले मस्यौदा नीति र कार्ययोजनामाथि समूहगत रुपमा छलफल गरी सुझाव समेत दिएका छन । जसमा महिला मैत्री अपांगमैत्री भौतिक व्यवस्थापन, महिला हिंसा न्यूनिकरणका लागि बृहत सचेतनात्मक कार्यक्रमहरु आयोजना गरिनुपर्ने, श्ुान्य सहिष्णुता नीति अपाउनुपर्ने, संस्थागत क्षमता विकास, सुरक्षा व्यवस्था, मनोविमर्श सेवा दिनुपर्ने लगाएतका सुझावहरु दिएका छन ।






















