सिन्धुली/शनिबार र आइतबार दुई दिन चलेको प्रथम तीज उद्यमी व्यापार मेला आइतबार सम्पन्न भएको छ । कमलामाई नगरपालिका सिन्धुली र महिला उद्यमी संघ सिन्धुलीको संयुक्त आयोजनामा भएको मेलामा २ लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ । सिन्धुलीमाढीमा भएको मेलामा स्थानीय महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यले राखिएको व्यापार मेलाका आयोजकको भनाई छ ।
स्थानीय उत्पादनले सही संरक्षण र बजार नपाएको र महिलाहरु आम्दानी भन्दा खर्चमा ध्यान दिन थालेको भन्दै उद्यमी महिलाको आत्मवल बढाउन मेला आयोजना गरिएको महिला उद्यमी संघ सिन्धुलीका अध्यक्ष निरु श्रेष्ठले बताईन ।
मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका ढाका कपडा, कस्मेटिक सामान, दर खानका लागि प्रयोग हुने खाद्य तथा दुग्धजन्य पदार्थ लगाएत अन्य सामानहरुको स्टलहरु राखिएको थियो ।
हामी सबै सरोकारवालालाई हो यो उदाहरण, महिला उद्यमीको माध्यमबाट आर्थिक सशक्तिकरण भन्ने नाराका साथ आयोजित मेला जिल्लामा पहिलो पटक लगाइएको हो । कार्यक्रममा स्टल राख्ने महिला उद्यमी, व्यापार मेलामा सहयोग गर्नेहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।




















