सिन्धुली । जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नंं ७ खुर्कोटको सुनकोशी किनारमा २०७५ जेठ ११ गते हत्या भएको अवस्थामा भेटिएको रामेछापको मन्थली नगरपालिका ७ की २४ वर्षिय बसुन्धरा खड्काको हत्यामा संलग्न भैरवनाथ गणका सैनिक दोलखा तामाकोशी ७ हावागैरीका ३६ वर्षिय लालबहादुर ढुंगेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । दोषी प्रमाणित भई अनुसन्धान सकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रमाणका रुपमा बरामद गरेका समानसहित ढुंगेललाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २०७५ जेठ ३० गते ढुंगेललाई पक्राउ गरेको थियो । युवतिको टाउकोमा चोट लागेको र कालो रुमालले घाँटीमा बाँधेको, घटनास्थलमा रगत बगेको, नजिकैको ढुंगामा रगत लागेको अवस्थामा सुनकोशीको किनारमा शव फेला पारेपछि अनुसन्धान सुरु गरेको र अनुसन्धानमा तानिएका सोहि गणका सैनिक रामेछाप लिखु तामाकोशी ६ का सुरेश बुढाथोकी भने निर्दोष पाईएको एसपी रामेश्वर प्रसाद यादवले बताए ।
मृतकका प्रेमी बुढाथोकीको हत्यामा कुनै संलग्नता नदेखिएको र ढुंगेलको नियत हत्या नै देखिएको पाईएको प्रहरीले जनाएको छ । युवतिको हत्या गरेर गहना, पैसा, पर्स र मोवाईल समेत लुटेर लगेको फेला परेको एसपी यादवले बताए । युवतिको शव शुक्रबार इलाका प्रहरी कार्यालय खुर्कोटबाट करीब ५ सय मिटर पर भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले केहि केटीहरुको नागरिकता, अश्लिल फोटो र १३,१४ वटा सिमकार्ड समेत पाईएको जनाएको छ । एसपी यादव भन्छन्, ‘ढुंगेल पेशेवर अपराधि भएको पाईएको छ ।’ उनले थपे, हत्या फिल्मी सैलीमा भएको छ, हिरो एउटा र भिलेन अर्को पाईयो ।’ पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका ढुंगेलले आफुले हत्या गरेको स्वीकारे तर कारण भने खुलाएनन । युवतिको हत्या यौन प्रस्ताव अस्वीकार गर्दा भएको पाईको प्रहरीले जनाएको छ ।






















