सिन्धुली । विकासका लागि पारदर्शी, जवाफदेहि र समन्वयात्मक भूमिका निर्वाह गर्न जिल्लाका सरोकारवालाहरु प्रतिवद्ध भएका छन । युएसएआइडिको आर्थिक तथा एफएचआईको प्राविधिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चारजगतबीको सहकार्य विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागि जिल्लाका विकासका साझेदार संस्थाका प्रतिनिधि, सञ्चारजगतका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुले हस्ताक्षर सहित प्रतिवद्धता व्यक्त गरेका हुन ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले विकासमा नगरपालिकाले पत्रकार नागरिक समाजसँग सधै सहकार्य गर्न तयार रहेको बताईन । आइतबार सिन्धुलीमाढीमा सम्पन्न कार्यक्रममा उनले स्थानीय सरकारले विकासका कार्यक्रम सञ्चालन गर्दा अवसर र चुनौती दुवैको सामना गर्नु परेको बताउँदै विकासका हरेक पाटामा सञ्चार क्षेत्रले सचेत बनाउनुपर्नेमा जोड दिईन ।
उनले लक्षित समूदायको बजेट नछुट्याउँदा चालु आर्थिक वर्षमा जनप्रतिनिधि नै आलोचित भएको बताउँदै अवको बजेट तथा कार्यक्रममा लक्षित समूदायको विकासका लागि काम थालिएको बताईन । बजेट कार्यान्वयनमा आएका समस्या समाधान गर्न समेत नागरिक समाज र पत्रकारसँग समन्वय गरिने बताइन । कार्यक्रममा बोल्दै कनपा ५ का वडाध्यक्ष पूर्ण बहादुुर खड्काले विकासका कामलाई प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरे ।
महिला विकास अधिकृत जानकी कुवँर राठीले समस्या उजागर मात्र नगरी समस्या समाधान गर्न सहकार्य गर्नुपर्ने बताईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले व्यक्तिका कारणले सबै नागरिक समाज र सञ्चार क्षेत्रलाई नै बदनाम नगराउन सबैलाई सुझाव दिए । उनले सबैले आफ्नो आफ्नो जिम्मेवारी उचित ढंगले पुरा गरेमा नागरिक समाज, पत्रकार र विकासका साझेदारलाई लाग्ने आरोपमा कमी आउने बताए ,
कार्यक्रममा बोल्दै नेपाल बार एशोशियसनका अध्यक्ष जंगबहादुर राईले विकासमा पारदर्शिता कायम हुनका लागि मिडियाको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए । यस्तै सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले आफ्नो कर्मले पु¥याउने हानीमा आफै जवाफदेहि हुने परम्पराको विकास भएमा समस्या कम हुने बताए ।
सिन्धुलीका वरिष्ठ पत्रकार शेषराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिले पेशागत दायित्व निर्वाह गर्नतर्फ सबै सजग भए पारदर्शिता र जवाफदेहिता स्वत कायम हुने बताएका छन । कार्यक्रममा नेपाल पत्रकार सिन्धुलीका सचिव विदुर पौडेलले गैसस र सरकारी निकायले सूचना अधिकारी र सूचनालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले नियमनकारी निकायले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गरेमा जवाफदेहिताको प्रश्न नआउने बताए ।
कार्यक्रममा अर्का पत्रकार वुद्ध अछामीले नागरिक समाज, राजनीतिक दल, पत्रकार, सरकारी निकाय वा नीजि क्षेत्र सबैले नियम कानुनलाई मान्ने हो भने पारदर्शिता र जवाफदेहिता कायम हुन समय नलाग्ने बताए । कार्यक्रममा सर्च फर कमन ग्राउण्डका कार्यक्रम संयोजक विमला कडायतले दिगो विकासका लागि जनप्रतिनिधिहरुले सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता भए पनि जनप्रतिनिधिबीचमै सहकार्यको वातावरण सृजना नभएको बताइन । उनले पदीय र पेशागत इमान्दारिता भएमा जवाफदेहिता कायम हुने बताईन ।
कार्यक्रममा बोल्दै दलित महिला सञ्जालका अध्यक्ष सर्मिला वि.कले दलित, अपांग, एकल महिलाहरुले पुननिर्माण र विकासमा सहभागिता जनाउन नपाएको गुनासो गरिन । यस्तै ट्रान्परेन्सी इन्टरनेशलका जिल्ला अधिकृत गंगा सत्यालले पारदर्शितामा पुननिर्माणका क्षेत्रमा काम गर्ने निकायले सूचनालाई पारदर्शी बनाउन नखोजेको र सहकार्यमा समेत ध्यान नदिएको बताईन । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले कार्यक्रमको विषयवस्तु माथि प्रकाश पारेकी थिइन ।






















