सिन्धुली/कमलामाई नगरपालिका सिन्धुलीले दुर्घटना वा अन्य कारणबाट आकस्मिक उपचार गर्नुपर्ने विरामीहरुका सिन्धुली अस्पतालमा आकस्मिक कोषको स्थापना गर्ने भएको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताएका छन । पछिल्लो समयमा बढ्दै गएको सडक दुर्घटनालाई ध्यानमा राख्दै चिकित्सक तथा नर्सहरुलाई इमरजेन्सी तथा क्रिटिकल केयर व्यवस्थापन सम्बन्धि तालिमको शनिबार सिन्धुलीमाढीमा उद्घाटन गर्दै खत्रीले उक्त कुरा बताएका हुन ।
खत्रीले कमलामाई नगरपालिका क्षेत्रमा रहेका जिल्ला अस्पतालको विकास र स्तरउन्नतीका लागी नगरपालिकाले कुनै कञ्जुस्याई नगर्ने स्पष्ट पारेका छन । अस्पतालको विकास र विस्तार स्थानीय सरकारको प्रमुख प्राथमिकतामा रहेको र यसका लागि नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरी आगामी दिनहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु लागि परेको बताए ।
कार्यक्रममा मेडिसिटि हस्पिटल प्रा.लि का वरिष्ठ डा.संजय कार्कीले मेडिसिटी हस्पिटलले सिन्धुलीलाई आवश्यक परेको बेलामा मेडिकल टिम सहितको आकस्मीक सेवाको हेलिकप्टर करिव ९ मिनेट भित्रमा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘करिव ६० हजार रुपैयामा सिन्धुलीमा हेलिकप्टर ल्याउन सम्भव छ’, डा . कार्कीले भने । यसबारे मेडिसिटि हस्पिटल काठमाडौंमा छलफल गर्ने पनि उनले बताए ।
तालिम उद्घाटनमा बोल्दै सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेण्डेड डा.सुमित्रा गौतमले आफ्नो कार्य अवधीभर सिन्धुली जिल्लामा कुनै पनि हिसावले सेवा र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन । जिल्ला अस्पतालका कर्मचारी तथा अस्पतालको क्षमता अभिवृद्धिका लागि लामो समयदेखि प्रयास रहेको र यसका लागि जिल्लाका सम्बद्ध निकायहरुबाट राम्रो सहयोग प्राप्त भएको पनि उनले बताईन ।
नेपाल मेडिसिटी अस्पतालका इमरजेन्सी मेडिसिनका प्रमुख डा. कार्की, क्रिटिकल केयर विभागका कोअर्डिनेटर डा. दिप्तेश अर्याल र इमरजेन्सी पारामेडिक्स रमेश न्यौपाने लगायतको टिमले स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेका थिए ।
बेसिक लाईफ सपोर्ट, इन्ट्युबेसन, स्वासप्रश्वासको ब्यवस्थापन, ईमरजेन्सीका आवश्यक उपकरणहरुको प्रयोग लगायतका सीपमूलक तालिमका लागि नेपाल मेडिसिटी अस्पतालले उपकरण, औजार तथा डमीहरुको ब्यवस्था गरी तालिम प्रदान गरेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले सिन्धुलीका जनताहरुलाई सुलभ र गुणस्तरीय सेवाका लागि आफूहरुले एम्बुलेन्स तथा शववाहनको ब्यवस्था गरेको बताए ।



















