सिन्धुली । अवैध रुपमा वन फँडानी गरि चिरान गर्दै गरेको सालको काठ प्रहरीले शुक्रबार बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ चिसापानीमा रहेको सामुदायिक वनबाट प्रहरीले सालको करीव २५० क्युफिट चिरान गरेका विभिन्न साईजका काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बरामद गरिएको काठ भएको वरपर सालका रुखहरु समेत लडाई राखेको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताएका छन ।
उनका अनुसार प्रहरीले काठ फँडानी गरि राखेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली घटनास्थल पुगेको थियो ।
काठ कसले कटान गरि राखेको हो भन्ने बारेमा भने केहि नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बरामद गरिएको काठ डिभिजन वन कार्यालय मरिणलाई बुझाउने तयारी भईरहेको एसपी काफ्लेले बताए ।























