सिन्धुली । सिन्धुली अपांग महिला संघ सिन्धुलीले मंगलबार सिन्धुलीमाढीमा अपांगता भएका व्यक्तिहरुका लागि समावेशी खेलकुद सम्पन्न गरेको छ । कमलामाई नगरपालिकाको सहयोगमा संघले तीन वटा खेल सम्पन्न गरेको हो ।
बहिरा बालबालिकाहरुका लागि व्याडमिन्टन, ह्विल चियर व्यक्तिहरुका लागि ह्विल चियर दौड र बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि बोसिया खेलको आयोजना गरिएको हो । तीनवटै खेलमा छात्रा र छात्रतर्फका खेल सम्पन्न गरिएको छ ।
छात्रा तर्फको व्याडमिण्टनमा खुस्बु कुमारी र कुसाहाङ राईको जोडी प्रथम भएका छन भने बाल कुमारी बुढाथोकी र टेक कुमारी मगरको जोडीले द्धितिय स्थान हासिल गरेका छन ।
यस्तै व्याडमिण्टन खेलमा छात्र तर्फ सदिन श्रेष्ठ र निखिल सुनुवारको जोडी प्रथम भएको छ भने अर्जुन खड्का र इश्वर गिरीको जोडी द्धितिय भएका छन । बौद्धिक अपांगता भएका छात्रछात्राहरुका लागि गरिएको बोसिया प्रतियोगिताको छात्रातर्फ सावित्रा कार्की प्रथम देविका वाईवा द्धितिय, सम्झना वराइली तृतिय र सरिता तामाङले सान्त्वना स्थान प्राप्त गरे ।
यस्तै छात्रतर्फ शितल ग्यावा प्रथम, राजेश थापा द्धितिय र आशाराम पाख्रिन तृतिय भए । यस्तै ह्विल चियर दौडमा विश्वलाल थिङ, जित बहादुर आल मगर द्धितिय र धनमाया बुढा मगर तृतिय भएका छन ।
खेलकुदपछि प्रतियोगितामा विजेता खेलाडी तथा उपविजेता खेलाडीहरुलाई कनपा ६ का वडा अध्यक्ष उज्जल थापा र कमलामाई नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका अधिकृत हितकुमारी पौडेलले मेडल, नगद पुरस्कार वितरण गरेका थिए । संघका अध्यक्ष दिपा देवकोटाको अध्यक्षतामा खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।






















