सिन्धुली/मुलुकी संहितामा भएको प्रावधान अनुसार काम गर्न गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालय र मातहतका निकायलाई पत्राचार गरेको छ ।
उक्त पत्रमा विद्यमान मुलुकी संहिताले विवाह गर्नका लागि केटा र केटीको उमेर अनिवार्य २० वर्ष पुगेको हुनु पर्ने प्रावधान राखेको हुदा भदौ १ गतेदेखि मुलुकी संहितालाई मध्येनजर गरि सोहि अनुरुप नागरिकता जारी गर्न निर्देशन गरिएको छ ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई पठाएको पत्रमा २० वर्ष नपुगी पति वा पत्नी कायम भई नागरिकता लिन आएमा वा वहुविवाह गरी पति पत्नी कायम गर्न आएमा नयाँ प्रचलित कानुन अनुसार र भदौ १ गतेभन्दा अघिका हकमा भने पहिले कै प्रावधान अनुसार नागरिकता प्रदान गर्न पत्र पठाएको हो ।
गृहको यो पत्रसंगै अव २० वर्ष नपुगि विवाह गरेकाको हकमा विवाह दर्ता समेत नहुने र २० वर्ष नपुगि विवाह गरि जन्मेका वच्चाको जन्मदर्ता समेत नहुने भएको छ ।
विवाह नै नगरी वावु आमाको सनाखतमा कसैले नागरिकता वनाउन चाहेमा भने पुरानो व्यवस्था अनुसार नै १६ वर्ष पुरा भएका नेपाली नागरिकले नागरिकता प्राप्त गर्न सक्नेछन ।
यदि भदौ १ गते अघि नै २० वर्ष अगावै विवाह गरेर विवाह दर्ता समेत गरिसकेको अवस्थामा भने उसले पतिको सनाखतमा नागरिकता लिन पाउने व्यवस्था पत्रमा उल्लेख छ । जिल्ला प्रशासनमा गृह मन्त्रालयले पठाएको पत्रको आधारमा अव स्थानीय तहले समेत २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने जोडीको विवाह दर्ता गर्न सक्ने छैन । मुलुकी संहिता २०७४ सालमा पारित भई २०७५ भदौं १ वाट लागु भएको हो ।



















