सिन्धुली । सिन्धुली अस्पताल र सामुदायिक आँखा उपचार केन्द्रमा विहानै ठूलो भिड थियो । त्यो भिडमा धेरै मान्छेहरु उभिएका थिए । बीचको भागको अगाडि र पछाडी दुई वटा व्यानर थिए । व्यानरमा आँखा शिविर भन्ने जनाउ दिईएको थियो । त्यहि भिडको अगाडीको भागमा भएको व्यानरको दुई छेउँमा थिए दुधौली नगरपालिका १० का ललिता सदा (१५) र उनको भाई श्रवण सदा (१२) ।

दिदी ह्वील चेयरमा थिईन । भाई प्लाष्टिकको कुर्चिमा थिए । दुवैजनाको आँखामा पट्टी थियो । उनीहरु उठेर आफै कतै हिडडुल गर्न शारीरिक अशक्तताका कारण सक्दैन थिए । उनको सहारा आमा सुमित्रा सदा थिईन । उनीहरुका पछाडी भर्खरका देखि जेष्ठ नागरिकसम्म करीव दुई सय नागरिक त्यसरी नै कुर्सिमा आँखामा पट्टी लगाएर बसेका थिए ।

धेरैको नजर सदाका दुई दिदीभाईमा ठोक्किएको थियो । तिलगंगा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. रिता गुरुङ र जानकी आँखा अस्पतालका डा. आशिष बोहोरा ह्वीलचेयरमा बसेकी ललिताको नजिकै गएर दुवै आँखामा लगाईएको पट्टी खोलिदिए । ललितालाई सोधे ‘देख्नुभयो ?’ ललिताले मुसुक्क हाँसेर भनिन, ‘देखें’ । ललिताले वरिपरि हेर्ने कोशिस गरिन । डा. गुरुङले औंला देखाएर ‘यो के हो ? कति वटा छ ?’ भनेर सोधिन । ललिताले ‘औंला, एक वटा’ भनिन । ह्वीलचियरबाट उठौं उठौंको भाव थियो उनको अनुहारमा । तर सकिनन । उनकी आमा सुमित्राका अनुसार ललिता जन्मेको एक वर्षमै दृष्टिविहिन बनेकी हुन । उनका दुवै खुट्टा पनि चल्दैनन ।
ललितापछि डाक्टरले उनका भाई श्रवणको आँखाको पट्टी खोलीदिए । उनीले आँखा देखेपछि निकै खुशी भए । जन्मदै मोतियाविन्दुका कारण दृष्टि गुमाएका उनी पनि परिवारका अन्य सदस्यको सहारामा बाँचिरहेका थिए । श्रवण पनि शारीरिक रुपमा अशक्त छन । हिडडुल गर्न सक्दैनन । उनमा पढ्ने धोको रहेछ । आँखा देखेपछि उनले भने, ‘अब म पढ्छु ।’
सदा परिवार निम्न आर्थिक अवस्था भएको परिवार हो । वनिवुतो गरेर परिवार पाल्ने यो परिवारमा दुई छोराछोरीको पूर्ण रेखदेख आमा सुमित्रा सदाले गर्दै आएकी छिन । सुमित्राका पाँच जना छोराछोरी छन । आँखा नदेख्ने र हिड्न नसक्ने छोराछोरीका कारण उनी ज्याला मजदुरी गर्न समेत जान पाउँदिनथिन तर आँखाको शल्यक्रियापछि भने अब काममा जान पाउने भएँ भनेर उनी खुशी भईन । उनले भनिन, ‘सरहरुले लिन गएका थिए, यीनिहरुले आँखा देख्ने भए । अब काममा जान पाउँछु होला ।’ उनको आँखामा विहान बेलुका छाक टार्न काममा जान पाउने खुशी थियो ।

त्यहि शिविरमा थिएन दुधौली नगरपालिका १३ की वृद्धा बुदीनि सदा । उनलाई आफ्नो उमेर पनि थाहा छैन । चिसोले लगलग कामी रहेकी सदाको ओढेको कम्बलले जाडो छेकेको थिएन । तै पनि आँखाको पट्टी खोलेपछि उनी मुसुक्क मुस्कुराईन । उनले दुवै आँखा नदेखेको ४ वर्ष भईसकेको थियो । आँखा देखेपछि उनले राम्रो लागेको बताईन । उनको खुट्टाले हिड्न नसके पनि देख्न सकेकोमा भने निक्कै खुशी थिईन ।
यस्तै शिविरमा तिनपाटन गाउँपालिका वडा नं. १० का ७३ वर्षिय भिमनाथ गौतम भेटिए । उनको पनि शुक्रबार नै मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । उनले विगत ५, ६ महिनादेखि एउटा आँखा देख्न छोडेका थिए । अर्को आँखामा बादल लाग्न थाल्यो । तिनपाटनमा भएको आँखा जाँच शिविरपछि उनलाई मोतियाविन्दु भएको थाहा भयो । उनले छोरीको साथमा सिन्धुलीमाढी आएर शुक्रबार आँखाको शल्यक्रिया गरे । डाक्टरले आँखाको पट्टी खोलिदिएपछि अगाडीको बोर्ड पढेर खुशी हुँदै भने ‘मैले त्यो वोर्ड पढ्न सकें नि । साना अक्षर चाहिँ चिनिनँ । चस्मा भए पुरै देख्छु होला ?’ पात्रोमा औंशी पूर्णिमा हेर्थें, ५, ६ महिनादेखि देख्नै छोडेको थिएँ । अब हेर्न सक्छु की ? उनमा पात्रो हेर्न सक्ने खुशी थियो ।
मोतिविन्दुको निःशुल्क आँखा शिविरले १२ वर्षदेखि ९३ वर्षका नागरिकसम्मलाई खुशी साट्ने अवसर दिएको थियो । शुक्रबार मोतियाविन्दुको शल्यक्रिया गरेका विरामीलाई शनिबार विहान डिस्चार्ज गरिएको थियो ।
शनिबार पनि दिनभर डाक्टरहरु मोतियाविन्दुको शल्यक्रियामा सक्रिय रहे । आँखा शिविरले धेरैको आँखामा ज्योति त दियो नै मुहारमा समेत खुशी ल्याएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए । उनका अनुसार दुई दिनमा तीनपाटन गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाका ३ सय १३ जना मोतियाविन्दुका विरामीको शल्यक्रिया गरिएको छ । केहि छिटफुट अन्य पालिकाका विरामी समेत आएका थिए ।
शिविरमा दुधौली नगरपालिका र तिनपाटन गाउँपालिकाले विरामी शिविरमा ल्याउन र घर लान यातायातको व्यवस्था गरेका थिए । रेडक्रसको ९ वटा मोतियाविन्दु छनौटका लागि गरिएका शिविरबाट छानिएका विरामी शल्यक्रियामा सहभागि भएका छन । मोतियाविन्दुको शल्यक्रिया निःशुल्क गरिएको छ ।
शल्यक्रियामा सक्रिय तिलगंगा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. रिता गुरुङले मोतिविन्दुको लागि एउटै मात्र उपाय शल्यक्रिया भएको र अन्य औषधि नभएको बताएकी छिन । उनले मोतिविन्दुका कारण नागरिकले दृष्टिविहिन भएर घरमा बस्न नपरोस भनेर शिविरको आयोजना गरिएको बताएकी छिन । शिविरले आँखा स्वास्थ्य सेवाको पहुँचमा नभएकाले सेवा पाएकोमा खुशी व्यक्त गरिन ।
शिविर नेपाल रेडक्रस सोसाईटी सामुदायिक आँखा अस्पताल सिन्धुली, तिलगंगा आँखा अस्पताल, जानकारी आँखा अस्पताल जनकपुरको आयोजनामा जिल्लामा भएको हो ।यले जनाएको छ ।




















