सिन्धुली । फिक्कल गाउँपालिका २ मा आगलागीमा परि घाइते भई उपचारका क्रममा रहेका एक जनाको मृत्यु भएको छ । मंसिर ४ गते आगलागीमा परि घाइते भएका ५५ बर्षिय रामजी बहादुर बोगटीको उपचारका क्रममा बुधवार मृत्यु भएको प्रहरीले जनाएको छ ।
फिक्कल गाउँपालिका २ डाङ्सेमा काठले बनेको खरको छानो भएको एक तले गोठमा आगलागी भएपछि बोगटी आगो निभाउन जाँदा घाइते भएका थिए ।
उनको बायाँ हात, दुवै खुट्टा र अनुहार जलेको थियो । बोगटीको किर्तीपुर बर्न अस्पतालमा उपचार भइरहेकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले जानकारी दिएका छन ।



















