सिन्धुली । पठन पाठन र खानेपानीको माग गर्दै विद्यार्थीहरुले विद्यालयमा तालावन्दी गरेका छन । चन्द्रावती मावि तीनपाटन गाउँपालिका–१ बेलाघारीका विद्यार्थीहरुले विद्यालयमा तालावन्दी गरेका छन ।
विगत तीन महिना देखि विज्ञान र गणित शिक्षक नभएकाले पठन पाठन वन्द भएको भन्दै विद्यार्थीहरुले तालावन्दी गरि अनश्चित कालिन तालावन्दी सहित आन्दोलित भएका छन । विद्यालयमा कार्यरत निमाविका विज्ञान शिक्षक अम्वर महत्तो सरुवा भएका र अर्का माविका गणित शिक्षक अरुण कुमार कटुवाल पनि सरुवा भई काठमाडौ गएपछि विद्यालयमा दुई शिक्षक रिक्त भएको र पठन पाठन अवरुद्ध भएपछि बाध्य भएर तालावन्दी गर्नु परेको कक्षा १० मा अध्ययनरत विद्यार्थी उत्तम अधिकारीले बताए ।
विगत तीन महिना देखि शिक्षक नभएपछि आफुहरुले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय प्रशासनमा जानकारी गराएको पनि वेवास्ता भएपछि आफुहरु तालावन्दी सहितका संघर्षका कार्यक्रममा उत्रिनु परेको अधिकारीले बताए ।
आन्दोलनरत विद्यार्थीहरुले प्लेकार्ड सहित विद्यालयको मुलगेटमा धर्ना दिई रहेका छन । पढ्नु पाउनु आफुहरुको अधिकार भएपनि पढ्नबाट आफुहरु वञ्चित भएको तथा राज्यले खानेपानी पाउनु मौलिक अधिकार भएपनि आफुहरुले विद्यालयमा रहेको वेला खानेपानी पिउन समेत नपाएको उनले बताए ।
विद्यार्थीहरुको माग जायज भएपनि विद्यालय प्रशासन आफै वा प्रधानाध्यापक एक्लैले चाहेर मात्र केही नहुने भएकाले कानुनी प्रक्रियामा नै समय लागेको विद्यालयका प्रधानाध्यापक अर्जुन घिमिरेले बताए ।
शिक्षक भर्ना गर्नका लागी स्थानीय तहको स्विकृति आवश्यक पर्ने र स्थानीय तहमा शिक्षा सम्वन्धित ऐन तथा कानुन नै अभाव रहेका कारण कानुन निर्माणमै ढिला भएकाले पनि शिक्षक पदपूर्ति गर्न समस्या भएको घिमिरेले बताए ।
स्थानीय तहमा कानुनको अभाव, तत्कालिन जिल्ला शिक्षा कार्यालय खारेज लगायतका कारणले शिक्षक भर्ना गर्न ढिलो भएको प्रधानाध्यापक घिमिरेले बताए ।
माध्यामिक गणित शिक्षकको लागी करारमा भर्ना गर्न सहमति मिलेको भएपनि प्रक्रिया मार्फत र खुल्ला विज्ञापन मार्फत शिक्षक भर्ना गर्नु पर्ने भएकाले कम्तिमा पनि १५ दिन जति लाग्ने र निमावि विज्ञान शिक्षकको लागी सरुवाको प्रक्रिया अगाडीबढी रहेकाले कहिले सम्पन्न हुन्छ भन्ने एकिन भन्न नसकिने घिमिरेले बताए ।
विद्यार्थीहरुले राखेका अन्य मागहरुमा खानेपानीको व्यवस्थापन पनि तत्काल पुरा गर्न विद्यालयसँग मामर्थ नभएकाले त्यसका लागी पनि सम्वन्धित निकायसँग माग गरिसकेको घिमिरेले बताए । विद्यालयमा खानेपानीको व्यवस्थापन टियूवेल मार्फत गरेको भएपनि त्यो पानी पिउनको लागी उपयुक्त नभएकाले धाराको पानी वा पानी शुद्धिकरण गर्ने प्रविधिको आवश्यक रहेको प्रधानाध्यापक घिमिरेले बताए । अर्को माग भनेको विद्यालयमा अतिरित्त कक्षा संचालन गर्नु पर्ने माग छ, जुन शिक्षकको पदपूर्ति भएपतिछ सम्भव हुने उनले बताए ।





















