सिन्धुली । प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि हातपातको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्कीलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।
उनले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार आत्मसमर्पण गरेपछि उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गोलञ्जोर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृतलाई हातपात गरी फरार रहेका वडा अध्यक्ष कार्की विरुद्ध पक्राउ पूर्जि जारी भएको थियो ।
२०८० साल असार १४ गते गोलन्जोर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेलमाथि हातपात गरेको आरोपमा उनलाई पक्राउ पूर्जि जारी गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले अभद्र व्यवहारको मुद्दा दर्ता गराएका थिए । कार्की स्वंयम जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भएको र जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले बताए ।
कार्कीले नीति कार्यक्रम तथा बजेटलाई पास गराउन सहयोग गरेको भन्दै बैठक स्थलबाट निस्कदै गर्दा कुटपिट गरेका थिए ।





















