सिन्धुली । गोलञ्जोर गाउँपालिका सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद पौडेलमाथि हातपात गरेको आरोपमा अनुसन्धानमा तानिएका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्की २५ हजार धरौटीमा छुटेका छन ।
सोमबार जिल्ला अदालत सिन्धुलीका न्यायाधिस उपेन्द्र प्रसाद गौतमको इजलासले उनलाई २५ हजार धरौटी रकम तोकेको थियो । कार्कीले उक्त धरौटी तिरेर छुटेका हुन ।
२०८० साल असार १४ गते गोलन्जोर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेलमाथि हातपात गरेको आरोपमा उनलाई पक्राउ पूर्जि जारी गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले अभद्र व्यवहारको मुद्दा दर्ता गराएका थिए । कार्की स्वंयम जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भएको र जिल्ला अदालतबाट आइतबार नै म्याद थप गरि प्रहरीले अनुसन्धान थालेको थियो ।
कार्कीलाई थुनछेकका लागि सोमबार अदालतमा पेश गरिएकोमा सोमबार नै धरौटीमा छुटेका हुन । कार्कीले नीति कार्यक्रम तथा बजेटलाई पास गराउन सहयोग गरेको भन्दै बैठक स्थलबाट निस्कदै गर्दा कुटपिट गरेका थिए ।
कुटपिट लगायतका घटनामा बारम्बार विवादमा आइरहने वडाध्यक्ष कार्की यसअघिका घटनामा भने माफी पाउँदै आएका थिए ।




















