सिन्धुली । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उपमेयर पदमा उम्मेदवारी दिएका दिर्घराज श्रेष्ठको उमेदवारी दर्ता हुन सकेको छैन । माओवादी केन्द्रबाट उपमेयर पदमा दिईएको उमेदवारी निर्वाचन आयोगको सफ्टवेयरले दर्ता नगरेको हो ।
श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा कायम रहेकाले उनको उमेदवारी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुव प्रसाद सापकोटाका अनुसार श्रेष्ठसँगै अन्य १० जना उमेदवारको उमेदवारी दर्ता भएको छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं ४ मा विष्णुकुमार श्रेष्ठ, वडा नं. ११ मा वडा अध्यक्षमा उम्मेदवारी दिएका मेमबहादुर ठकुरीको प्रस्तावक र समर्थकको नाम नभिड्दा उम्मेदवारी दर्ता हुन सकेको छैन ।
यस्तै राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिएका वडा नं. २ का सोममाया सार्की, वडा नं ११ मा वीरबहादुर माझी, वडा नं १२ मा ढालबहादुर बि.क., वडा नं. १ का लक्ष्मण सुनुवार, वडा नं १० मा उज्वल कोइराला र वडा नं. ४ मा मान्दो सिं भोलनको पनि उम्मेदवारी दर्ता भएको छैन । उनीहरुको प्रस्तावक र समर्थकको विवरण नभिड्दा दर्ता नभएको कार्यालयले जनाएको छ ।
यस्तै नेपाली काङ्ग्रेसबाट वडा नं. ९ मा वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका टिका प्रसाद घिमिरेको पनि प्रस्तावकको विवरण नभिड्दा उम्मेदवारी दर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत ध्रुव प्रसाद सापकोटाले जानकारी दिए । उमेदवारी दर्ता गर्ने समय सकिएकाले समानुपातिकबाट नाम हटे पनि उमेदवारी दर्ता हुन नसक्ने भएको छ ।
निर्वाचन आयोगले गठबन्धनका तर्फबाट उमेदवारी दिएका श्रेष्ठको उमेदवारी दर्ताको सम्भावना सकिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजुको विवरण सार्वजनिक गरेसँगै उमेदवारी पूर्ण रुपमा दर्ता नहुने भएको हो ।






















