सिन्धुली । दुई दिनदेखि परेको अविरल वर्षातका कारण गएको बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न वस्ती तथा घरहरु जोखिममा परेका छन । कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा पहिरोका गएका कारण घरहरु तथा वस्तीहरु जोखिममा परेको जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका वडा नं. ७ को एकपाखेमा पहिरोका कारण ६, ७ घर उच्च जोखिममा परेका छन । पहिरोका कारण सिन्धुलीदेखि तिनपाटन जाने निर्माणाधिन सडक समेत अवरुद्ध भएको छ । पिचका लागि ग्राभेल गरिएको सडक चिरा चिरा परेर क्षति भएको छ । यस्तै उक्त वडाको रामपुरमा पहिरोका कारण एक घर जोखिममा परेको छ ।
यस्तै कमलामाई नगरपालिका ११ फिटिङमा पहिरोका कारण चारपाँच घर जोखिममा परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका अनुसार उक्त वस्तीसँगै जोडिएको सडकमा झरेको पहिरोको माटो हटाईएको छ ।
यस्तै कमलामाई नगरपालिका वडा नं. ५ मिलनचोकका २ घर पनि पहिरोका कारण जोखिममा परेका छन । विपी राजमार्गमा पर्ने विभिन्न खहरेमा आएको बाढीले अवरुद्ध सडकहरु सफा गरि सुचारु गरिएको छ । विहानैदेखि अवरुद्ध सडक सफा गरि यातायात सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन । विपी राजमार्ग अन्तर्गत कमेरेफाँटको पहिरो समेत सफा गरि यातायात सञ्चालन गरिएको हो ।
यस्तै कमला, चँदाहा मरिण लगाएतका नदीहरुमा सतह भन्दा बढी बाढी आएको छ । कमला नदीमा आएको बाढीका कारण कमलामाई नगरपालिका क्षेत्रका धान खेतहरु पुरिएका छन भने कतिपय स्थानमा कटान समेत भएको छ । कमला नदीको बाढीले कमलामाई नगरपालिका वडा नं. ८ बाघमारा र वडा नं. १० भडार जोड्ने झोलुंगे पुल उच्च जोखिममा परेको स्थानीय तिलक कार्कीले बताएका छन ।
यस्तै मध्यपहाडी राजमार्गमा विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । उक्त राजमार्गको सिन्धुली खण्डमा १५ वटा पहिरो गएको र ६ वटा पहिरो ग्रेडर लगाएर खुलाईएको भए पनि सबै पहिरो हटाउन नसकिएको प्रजिअ न्यौपानेले बताएका छन । यस्तै ग्वाङखोलामा आएको बाढीका कारण वसपार्क क्षेत्रमा रहेको पुलामी फ्रेस हाउस कटान गरि जोखिममा पारेको छ । सो सँगै वसपार्कबाट मधुटार तर्ने पक्कि पुल समेत जोखिममा परेको छ । यस्तै उक्त खोलाले शनिबारे हाट बजारको तल्लो भाग कटान गरेका कारण हाटबजार स्थल नै जोखिममा परेको छ ।
यसैबीच प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सहितको टोलीले जिल्लाका विभिन्न बाढी पहिरो गएका स्थानहरुको अवलोकन गरेको छ । विपद व्यवस्थापनका लागि टोलीले तथ्य अवलोकन गरेको हो । कमलामाई नगरपालिका क्षेत्रका पहिरो प्रभावित क्षेत्र, कमला नदीबाट प्रभावित हुने क्षेत्र कमलामाई नगरपालिका र दुधौलीको विभिन्न ठाउँहरु, विपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गका विभिन्न स्थानहरु, सिन्धुली तिनपाटन सडक लगाएतका ठाउँको अवलोकन गरिएको प्रजिअ न्यौपानले बताएका छन । बाढी र पहिरोका कारण धेरै ठाउँका वस्ती तथा खेतियोग्य जमिनहरु जोखिममा परेको पाईएको उनले बताए ।





















