सिन्धुली । जिल्लाका पत्रकारहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन सरकारलाई सुझाव दिएका छन । बुधबार सिन्धुलीमाढीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै पत्रकारहरुले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन हुन नसक्दा पत्रकारहरुको अवस्था खस्कदै गएको बताएका छन ।
नियमित तलब पाउन नसक्ने, नियुक्ति पत्र नपाउने, तलब समयमा नपाउने लगाएतका समस्या भोग्नु परेको बताउँदै सरकारले सञ्चारमाध्यमलाई मजबुद बनाउँदै श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन सरकारलाई आग्रह गरेका हुन ।
न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ सिन्धुलीको समन्वयमा सिन्धुलीमाढीमा भएको श्रमजीवी ऐन कार्यान्वयन र जिल्लाको अवस्था विषयक अन्तत्र्रिmयामा बोल्दै जिल्लाका पत्रकारहरुले ऐनको कार्यान्वयनलाई प्रभावकारी बनाउन सुझाव दिएका हुन ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य द्वारिका काफ्लेले सबै मिडियाहरु श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न तयार रहे पनि समानुपातिक विज्ञापन नीति कार्यान्वयन नभएका कारण समस्यामा भएको बताए । उनले समानुपातिक विज्ञापन नीति कार्यान्वयन हुनासाथ श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन सहज हुने बताए । सरकारी निकायले स्थानीय सञ्चारमाध्यमलाई सिन्डीकेट लगाएर कमिसनमा चल्दा जिल्लाका सञ्चारमाध्यमरु संकटमा परेको र श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन नसकेको काफ्लेले बताए ।
पत्रकार अनिल भण्डारीले श्रमजीवि पत्रकारले श्रमको मुल्य नपाएको बताउँदै नियुक्ति प्रक्रियादेखि नै सरकारले कडाई गरि अनुगमन गर्नुपर्ने बताए ।
अन्तक्र्रियामा बोल्दै रेडियो विजयकिल्लाका बुद्ध नेपालीले कोभिडका कारण पत्रकारहरु र सञ्चारमाध्यमहरु संकटमा परेको बताए । उनले कतिपय मिडिया हाउसले कर्मचारी कटौती गर्ने, समयमा तलब दिन नसक्ने लगाएतका समस्या सृजना भएको बताएका छन । उनले समानुपातिक विज्ञापन नीति स्थानीय तह तथा सरकारी निकायले बनाउनुपर्ने सुझाव दिएका छन ।
कार्यक्रममा बोल्दै सिद्धवावा एफएकका प्रवन्धक तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष टिकाजंग थापाले समानुपातिक विज्ञापन नीति कार्यान्वयन नभएसम्म जिल्लामा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा कठिनाई भइरहेको बताए । उनले सरकारी निकायले सञ्चारका नाममा करोडौं रकम खर्च गरेको पाईए पनि स्थानीय सञ्चारमाध्यमलाई सहयोग नगरेको उनको आरोप छ । उनले जिल्लामा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसकेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णहरि घिमिरेले जिल्लामा पत्रकारले समयमा तलब नपाउने, तोकिएको तलब नपाउने लगाएतका समस्या रहेको बताएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जिल्लाका श्रमजीवि पत्रकारको हकहित र श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन समन्वय, सहयोग र पहल गरिने बताए । उनले जिल्लाका मिडिया हाउसहरुलाई नियुक्ति दिन, कल्याणकारी कोषको स्थापना गर्न, न्युनतम पारिश्रमिक लागु गर्न सुझाव समेत दिएका छन । पत्रकारले समयमा पारिश्रमिक पाएमा श्रमजीवी पत्रकारमा उत्साह र काम गर्न जाँगर बढ्ने हुदा न्युनतम पारिश्रमिक उपलब्ध गराउन उनले सुझाव दिएका हुन ।
कार्यक्रममा न्युनतम पारिश्रमिक समितिका सदस्य विमला पाण्डेले श्रमजीवि पत्रकार ऐनमा भएका व्यवस्था, नेपालमा श्रमजीवी पत्रकारहरुको अवस्था लगाएतका विषयमा जानकारी गराएकी थिईन ।























