सिन्धुली । जिल्लामा कोरोनाका कारण सोमबार २ जना महिलाको मृत्यु भएको छ । कोभिड अस्पताल सिन्धुलीमा उपचार गराईरहेका दुई जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका ९ की ४८ वर्षिय दुग्य सदा (मुसहर) र कमलामाई नगरपालिका ४ की ३० वर्षिय रिता केसीको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीका कोभिड १९ फोकल पर्सन सन्तोष कुमार माझीले बताएका छन ।
उनका अनुसार केसीको बैशाख २९ गतेदेखि सिन्धुली अस्पतालमा उपचार भईरहेको थियो भने सदाको बैशाख ३० गतेदेखि सिन्धुली कोभिड अस्पतालमा उपचार भईरहेको थियो । केसीलाई ज्वरो र स्वासप्रस्वासमा समस्या देखिए पछि उपचारका लागि अस्पताल ल्याईएको थियो । उनको जेठ २ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।
यस्तै सदाको पनि स्वासप्रश्सासमा समस्या आएपछि भेन्टिलेटरमा राखि उपचार गरिएको थियो । सदाको विहान ४ बजे र केसीको विहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोभिड १९ नयाँ भेरियण्टको दोस्रो लहरबाट सिन्धुलीमा ज्यान गुमाउनेहरुको संख्या ९ पुगेको समेत माझीले बताएका छन ।
यसैबीच सिन्धुलीमा सोमबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ६ सय ५७ पुगेको छ । नयाँ संक्रमित हुनेमा सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल सहित २० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै गोलञ्जोर गाउँपालिकामा १२ जना, मरिण गाउँपालिकामा ४ जना, तिनपाटन गाउँपालिकामा ७ जना र कमलामाई नगरपालिकामा ३ जनामा संक्रमण देखिएको माझीले बताए । उनका अनुसार ११३ जनाको रिपोर्ट आएकोमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।




















