
सिन्धुली । निर्माणाधिन कारागार कार्यालयको शौचालयको हज तथा ढलबाट निस्केको फोहोरले गाउँ नै समस्यामा परेको छ । नयाँ भवन बनाई भदौ दोस्रो साता कैदिबन्दीलाई नयाँ भवनमा सारेको कारागारबाट निस्केको शौचालयको पानी र दिशापिसाव सडक भरि छताछुल्ल भएपछि कनपा ५ को ऐसेलुजंघारको बस्ती नै समस्यामा परेको छ । उक्त फोहोरका कारण करीव ३० मिटर नजिकै रहेको सार्वजनिक इनारलाई समेत दुषित बनाउने भन्दै खानेपानीको समस्या हुने देखिएको स्थानीयले बताएका छन ।
यस्तै कारागारबाट वाथरुम तथा किचनबाट निस्केको फोहोर पानी नजिकैको साँघोगैरा खोल्सीमा निकास गर्दा ऐसेलुजंघार र त्यस तलका बस्तीका बासिन्दालाई समस्या भएको छ । उक्त खोल्सीको पानी ऐसेलुजंघार, सानो करकरे, माझीडाँडा, पञ्चकन्या टोल, मजगाईं टोलका करीब चारसय घरधुरीका बासिन्दा गाई वस्तुलाई खुवाउने तथा नुहाउने, लुगाधुने काममा प्रयोग गर्दै आएका थिए ।
कारागार कार्यालयको नवनिर्मित सेफ्टीट्यांकीमा लगाईएको सुख्खा गाह्रो छिचोलेर पानी सडकमा पुगेर जमेको छ । दशैंदेखि नै आएको उक्त समस्याले स्थानीय करिब ४०÷५० घरलाई समस्या पारेको स्थानीय गणेश बहादुर श्रेष्ठले बताएका छन । कारागार कार्यालयलाई दुर्गन्ध फैलिएको जानकारी गराएको भए पनि कार्यालयले उचित व्यवस्थापनमा ध्यान नदिएको स्थानीयको आरोप रहेको छ ।

स्थानीय गणेश श्रेष्ठका अनुसार समस्या पटक पटक कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, कारागार कार्यालयका प्रमुख मातृका प्रसाद पहाडीलाई स्थानीयले राखिसकेका छन तथापी यसको दिर्घकालिन समाधान ननिस्केको श्रेष्ठले बताए ।
भवन निर्माणको ठेक्का लिएको निर्माण कम्पनी डाँफे धुलिखेल सन्जीवनी वर्दस जेभीका सञ्चालक सुवास दाहालका अनुसार उक्त शौचालय ४० देखि ५० जना व्यक्तिले प्रयोग गर्न मिल्ने गरि बनाईएको छ । शहरी सदन विकास कार्यालय रामेछापका इन्जिनियर सञ्जय महत्तोले भवनको नियमित निरिक्षण गरिरहेका छन । तथापी स्थानीयको आवाजलाई कसैले पनि सम्बोधन गरेका छैनन । कारागार कार्यालयका कारण सिन्धुली सदरमुकाम सिन्धुलीमाढीको दाहसंस्कार गर्न स्वर्गद्धारी घाटमा जाने बाटो पनि त्यहि स्थान हुदै भएकाले लाश सदगत गर्न जान समेत समस्या हुने भएको छ ।
सुख्खा गाह्रो लगाएर बनाईएको उक्त शौचालय प्रयोगमा आएको एक महिना नपुग्दै भरिएको कारागार कार्यालयका प्रमुख मातृका प्रसाद पहाडीले बताएका छन् । उनका अनुसार ८० जनाको क्षमताको नवनिर्मित भवनमा कैदी बन्दीको अत्यधिक चाप भई ३८० जना पुगेका छन् । जसका कारण शौचालयको क्षमताले धान्न सक्ने अवस्था छैन । उनले फोहोर व्यवस्थापनका लागि कारागार कार्यालय नजिकै रहेको रोहित मगरको जग्गा लिजमा लिईएको र तत्काल फोहोर व्यवस्थापन हुने बताएका छन । तथापी त्यो व्यवस्थापनले पनि स्थानीयको समस्या समाधान भने नगर्ने भएको छ ।

कारागार कार्यालय निर्माणकै चरणमा छ । महिला कैदीबन्दी भवन, कार्यालय भवन मेस सहितका भवन बन्दै गरेका छन । ती सबै भवनको शौचालयको सेफ्टीट्याँकीको हज २ वटा मात्र रहेका छन । करिब १ हजार कैदी बन्दी राख्न सकिने उक्त कारागार भवनमा फोहोर व्यवस्थापन भने चुनौती नै बन्ने देखिएको छ । गृह मन्त्रालयको बजेटमा बनेको उक्त भवनको प्राविधिक निरिक्षण सहरी सदन विकास कार्यालय रामेछापले गरिरहेको छ । तथापी सुख्खा गाह्रो लगाईएको शौचालयका कारण बस्ती नै उठ्नुपर्ने अवस्थामा रहेको छ ।
शौचालय भरिएर बाहिरै बग्न थालेपछि नगरपालिकालाई फोहोर व्यवस्थापनका लागि कारागार कार्यालयले आइतबार अनुरोध गरेको भए पनि फोहोर तान्ने मेसिन नभएकाले पठाउन नसक्ने कमलामाई नगरपालिका वातावरण शाखा प्रमुख सागर कुमार ढकालले बताएका छन । ढकालले नगरपालिकामा लिखित रुपमा शौचालयका कारण समुदायलाई असर गरेको निवेदन नआएकाले समस्याका बारेमा जानकारी नभएको बताए ।
समुदायलाई नै फोहोरका कारण असर गर्न व्यक्ति, सार्वजनिक निकाय वा जो कोहिले पनि नमिल्ने भएकाले समस्या के भएको हो ? बुझ्ने र त्यसको व्यवस्थापनका लागि सहजीकरण गर्ने ढकालले बताएका छन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय स्तरमा जनस्वास्थ्यलाई प्रतिकुल असर पर्ने किसिमका बातावरणीय प्रदुषण नियन्त्रण, अनुगमन तथा नियमनको अधिकार स्थानीय सरकारलाई दिएको छ ।
यस्तै कमलामाई नगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ मा पनि नगरपालिकाले तोकेको स्थान भन्दा बाहेकका स्थानमा फोहोर मैला व्यवस्थापन गर्न नपाईने व्यवस्था छ । भने नगरपालिकालाई फोहोर व्यवस्थापनमा अवरोध भए वा समुदायलाई नै असर पुग्ने गरि फोहोरमैला फालिएमा वा सार्वजनिक स्थानमा फालिएमा दण्ड जरिवाना गर्ने अधिकार समेत स्थानीय सरकारलाई रहेको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले कारागारको फोहोरको समस्या बुझेर दिर्घकालिन समाधान गर्नका लागि पहल गरिने बताएका छन ।






















