सिन्धुली । वि.सं. २०६७ सालदेखि कार्तिक २४ गते मनाईदै आएको सिन्धुलीगढी विजय दिवस यस वर्ष कोरोनाका कारण प्रभावित बनेको छ । विगतका वर्षहरुमा भव्यताका साथ मनाईदै आएको विजय दिवस यो वर्ष अनौपचारिक रुपमा मनाईने भएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।

नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेत बोलाई ¥याली, झाँकी सहित गरिने औपचारिक कुनै पनि कार्यक्रम नगरिने मेयर खत्रीले बताए । यसपटक विजय दिवसमा नगर प्रमुख खत्रीले झण्डोत्तोलन गर्ने भएका छन भने नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको छ । जुन अनौपचारिक रुपमा हुनेछ ।
वि.सं. २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन सुरु गरेको थियो । सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासंघले प्रचार प्रसारका लागि उक्त दिवस मनाउन सुरु गरेकोे थियो ।
त्यसपछिका वर्षमा तत्कालिन जिल्ला विकास समितिको आयोजनामा विजय दिवस मनाउन थालिएको थियो । स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजय दिवसको आयोजना गर्दै आएको थियो । नेपाली सेनाले विजय दिवसमा हरेक वर्ष सलामी दिदै आएको छ भने नेपालको झण्डा झण्डोत्तोलन गरि राष्ट्रियताको स्मरण गरिने गरेको थियो ।
कार्तिक २४ लाई वि.सं. १८२४ मा नेपाली फौजले अंग्रेजलाई हराएको दिनको सम्झनामा सिन्धुलीगढीमा विजय दिवस मनाउँदै आएको छ ।






















